विराटचोकः चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि पहिलो पटक आज खुलेको शेयर बजारमा बैंकिङ उपसमूह ९ दशमलव ८९ प्रतिशतले बढ्न पुग्यो । लगानी उपसमूह ५ दशमलव ७५ र विकास बैंक समूह ४ दशमलव ८७ प्रतिशतले बढे ।
शेयर बजारमा कारोबार हुने १९ वाणिज्य बैंकहरुमध्ये १८ बैंकहरुको शेयरमूल्य १० प्रतिशत बढ्यो । स्ट्याण्डर्ड चार्टड बैंकको शेयरमूल्य ८ दशमलव ३० प्रतिशतमात्रै बढ्यो ।
शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले वाणिज्य बैंकहरुको खराब कर्जा घटाउने उद्देश्यले असल कर्जामा १.१ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्ने व्यवस्था गरेको थियो । त्यस्तै, क्यापिटल एडिक्वेसी फ्रेमवर्कमा संशोधनको घोषणा, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा साढे २ करोड बढाउनु, रेगुलेटरी रिजर्भको रकम टियर टु क्यापिटलमा गणना गर्न पाउनुजस्ता व्यवस्थाले बैंकहरुको नाफा बढाउने भएकोले लगानीकर्ताहरु वाणिज्य बैंकहरुमा आकर्षित भएका हुन सक्ने अनुमान गरिएको छ ।
नेप्से परिसूचक ११३.४२ अंक बढेर २६८१.५६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ५.८२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ८.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १०.०५ अंक बढेको छ ।
खुलेको साढे १ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेपछि पहिलो सर्किट ब्रेक लागेर बजार २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुलेको बजार १ मिनेट पनि नबित्दै ५ प्रतिशत बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यसको ४० मिनेटपछि खुलेको बजारमा भने बिक्री चाप परेपछि २७०८ पुगेको नेप्से ह्वात्तै घटेर २६२४ सम्म झरेको थियो । त्यसपछि २६५४ पुगेको नेप्से फेरि २६२४सम्म झरेपछि सवा १ बजेदेखि भने उकालो लाग्दै २६८० सम्म पुगेर बजार बन्द भएको थियो ।
आज ३१८ कम्पनीको १ लाख ६३ हजार ८१० पटकको कारोबारमा १५ अर्ब ८१ करोड ५ लाख रुपैयाँ बराबरको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा शीर्ष स्थानमा कुमारी बैंक रहेको दिन आज १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँको शेयर किनबेच भएको छ ।
आज कुमारी बैंकको यस दिन ३६ करोड १० लाख ८९८ रुपैयाँको शेयर किनबेच भएको छ । एनआईसी एशिया बैंकको ३४ करोड ८१ लाख ६९ हजार ८८५ रुपैयाँको शेयर किनबेच भएको छ । हिमालयन रिइन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट कम्पनी र शिवम् सिमेन्ट्स उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
लघुवित्त उपसमूहको परिसूचकमा मात्र रातो पोतिँदा सो परिसूचक ०.१८ प्रतिशत घटेको छ । धेरै शेयरमूल्य घट्ने १० कम्पनीमध्ये ७ वटा लघुवित्त कम्पनी रहेका छन् । गणपति लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.३५ प्रतिशत घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४२ खर्ब ५४ अर्ब ८६ करोड ५६ लाख ८६ हजार ९४५ रुपैयाँ कायम भएको छ ।