विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा भएको शेयर (धितोपत्र) बजारसम्बन्धी सचेतना कार्यत्र mममा उल्लेख्य मात्रामा विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा सुकुना बहुमुखी क्याम्पस, शिक्षा निकेतन मावि, हरैंचा मोडललगायतका शिक्षालयका विद्यार्थी सहभागी भएका थिए ।
संघको आयोजना तथा उद्योग वाणिज्य महासंघको समन्वयमा धितोपत्र बोर्डको सहजीकरणमा सुकुना बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा ९० प्रतिशतभन्दा धेरै विद्यार्थी उपस्थित थिए । उनीहरुमध्ये आधाभन्दा बढी डिम्याट खाता नभएका विद्यार्थी थिए ।
उपस्थित सहभागीलाई धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायणप्रसाद शर्मा र कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले धितोपत्रसम्बन्धी ज्ञान प्रदान गर्नुभएको थियो ।
विद्यार्थी लक्षित कार्यक्रममा शेयर बजारसँग सम्बन्धित डिम्याट खाता, सिआरएन नम्बर, आईपीओ, एफपीओ, हकप्रद, लाभांश, ऋणपत्र, सामुहिक लगानी कोष आदिको बारेमा आधारभूत ज्ञान प्रदान गरिएको थियो । सहभागीले राखेका जिज्ञासाको सहजकर्ताले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद रिजालले गर्नुभएको थियो । कार्यक्रमको औचित्यको बारेमा संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका सुरज वैद्यले कार्यक्रमको सफलताको कामना दिँदै शेयर बजारसम्बन्धी अनुभव सुनाउनुभएको थियो । झण्डै साढे ३ घण्टा सञ्चालन भएको कार्यक्रममा सहभागीमध्ये १ जना विद्यार्थी र १ जना पुराना लगानीकर्ताले आफ्नो भनाइ राख्नुभएको थियो ।