Tuesday, December 24, 2024
Homeफिचरमधाहा एकता टोल विकास संस्थाको साधारण सभामा सम्मानैसम्मान

मधाहा एकता टोल विकास संस्थाको साधारण सभामा सम्मानैसम्मान

गोठगाउँः सुन्दरहरैंचा–७ मा रहेको मधाहा एकता टोल विकास संस्थाको साधारणसभा शनिबार सम्पन्न भएको छ । विगत २ वर्षको अवधिमा संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तिका साथै ज्येष्ठ नागरिक तथा टोल विकास संस्थाभित्रका उत्कृष्ट विद्यार्थी, खेलाडीलगायतलाई साधारणसभामा सम्मान गरिएको हो ।

संस्थाले ९० वर्षमाथिका ५ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । गत वर्षको परीक्षामा कक्षा ५ मा उत्कृष्ट हुने विद्यार्थीका साथै टोल विकास संस्था स्तरीय भलिबल प्रतियोगितामा भाग लिने खेलाडी र संस्थाका कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिने कलाकारलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

साधारणसभाका अधिकांश वक्ताहरुले सुन्दरहरैंचाको वडा नम्बर ७ का १३ वटा टोल विकास संस्थामध्ये सबैभन्दा उत्कृष्ट संस्थाको रुपमा मधाहा एकता टोल विकास संस्था रहेको बताउनुभएको थियो । सो संस्थाले आफ्नो टोलभित्रका बाटोहरुको नम्बर लेखिएको बोर्ड राख्ने काम गरेको छ । त्यस्तै, सांस्कृतिक पर्वमा टोलवासीलाई सहभागी गराई भव्य रुपमा मनाउने, विभिन्न जानकारीसहितको भित्तेपात्रो प्रकाशन गर्ने, वडाका हरेक गतिविधिमा सक्रिय सहभागिता जनाउने तथा नगरले गरेको श्रमदानमा सक्रिय सहभागी हुने लगायतका काम गरेको संस्थाका उपाध्यक्ष बालकृष्ण गौतमले बताउनुभयो ।

संस्थाकी कोषाध्यक्ष शर्मिला घिमिरेले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले २ वर्षको अवधिमा १ लाख ११ हजार रुपैयाँ आम्दानी गरी १ लाख १ हजार रुपैयाँ खर्च गरी १० हजार रुपैयाँ बचत गरेको उहाँले आर्थिक प्रतिवेदनमा उल्लेख गर्नुभएको थियो । संस्थाको आम्दानीको स्रोत नहुँदा पहिलो वर्ष देउसी खेलेर ७९ हजार रुपैयाँ सङ्कलन गरिएको रकम नै संस्थाको मुख्य आम्दानी रहेको उहाँले प्रतिवेदनमा उल्लेख गर्नुभएको थियो ।

कार्यक्रमका वक्ताहरु समाजसेवी मोहन आचार्य, रवीन्द्र आचार्य, अनुरोध साह, पचहत्तरे बिघे टोल विकास संस्थाका अध्यक्ष महेश उप्रेती, सुन्दरवाटिका एकेडेमीका सञ्चालक निलप्रसाद फुयाललगायतले संस्थाले गरेका काम उत्कृष्ट रहेको र अन्य संस्थाका लागि उदाहरणीय रहेको बताउनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा– ७ का वडाध्यक्ष भुवनसिंह मगरले टोल विकास संस्थाका कारण वडाका गतिविधि गर्न सहज भए पनि संस्थालाई वडाले र नगरले आर्थिक सहयोग गर्न नसकेको स्वीकार्नुभयो । आफैँले स्रोत जुटाएर भए पनि मधाहा एकता टोल विकास संस्थाले उल्लेखनीय काम गरेको उहाँको भनाइ थियो ।

टोल विकास संस्थाका अध्यक्ष अनिल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी मिश्रले गर्नुभएको थियो ।

साधारणसभाले आगामी २ वर्षका लागि निवर्तमान सचिव लक्ष्मी मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments