कानेपोखरीः कानेपोखरी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ६५ करोड ५७ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको छ । गत असार १० गते प्रस्तुत भएको बजेट असार ३१ गते पारित भएको हो ।
साउन १ गते गाउँपालिकाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको बजेटअनुसार चालु खर्चअन्तर्गत पालिकाको प्रशासनिक खर्चतर्फ ५ करोड ५७ लाख ८६ हजार रुपैयाँ, वडागत प्रशासनिक खर्चतर्फ २ करोड ४३ लाख १४ हजार रुपैयाँ विनियोजन गरिएको छ । पूँजीगत खर्चतर्फ सबैभन्दा धेरै ५ करोड २१ लाख ९६ हजार ४५ रुपैयाँ शिक्षा तथा सामाजिक विकासतर्फ विनियोजन गरिएको छ ।
गाउँपालिकाले बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा झण्डै ५ किलोमिटर सडक कालोपत्रे गर्ने भएको छ । त्यस्तै झण्डै ३ किलोमिटर सडक ड्रेनसहित स्तरोन्नति गर्ने भएको छ ।
त्यस्तै, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियिोजन गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले जानकारी दिनुभयो ।