Tuesday, December 24, 2024
Homeफिचरलेटाङको नयाँ प्रयासः आगामी आर्थिक वर्षको बजेट नगरवासीसामु सार्वजनिक गर्ने अभ्यास

लेटाङको नयाँ प्रयासः आगामी आर्थिक वर्षको बजेट नगरवासीसामु सार्वजनिक गर्ने अभ्यास

खेमचन्द्र अधिकारी
लेटाङः देशका अझै पनि केही स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन् । हरेक वर्ष असार १० गतेसम्ममा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्था भए पनि कोशी प्रदेशकै केही स्थानीय तहले असार सकिन लाग्दासमेत बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

देशभरका अधिकांश पालिकाले आगामी आर्थिक वर्षको बजेट पारित गरिसकेका छन् । बजेट पारित गरे पनि सर्वसाधारणलाई सामान्यतः त्यसबारेमा जानकारी हुँदैन । नगरसभामा उपस्थित जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीलाई मात्रै बजेटको आकार थाहा हुन्छ । सञ्चारकर्मीले सञ्चारमाध्यममार्फत् बजेटको आकारबारे जानकारी दिएपछि मात्रै सर्वसाधारणले थाहा पाउँछन् ।

लेटाङ नगरपालिकाले भने नगरवासीलाई बजेटको जानकारी दिन कार्यक्रम नै आयोजना गरी नयाँ अभ्यासको थालनी गरेको छ । लेटाङ नगरपालिकाले पन्ध्राँै नगरसभाबाट पारित बजेट नगरवासीसामु जानकारी गराउन आयोजित कार्यक्रममा पूर्व सांसद, जिल्ला समन्वय समितिका प्रमुख र छिमेकी पालिकाका प्रमुखलाई बोलाउनुका साथै प्रदेशका मुख्यमन्त्रीलाई नै कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोलाएर आफ्नो नगरले गरेको असल अभ्यासको बारेमा जानकारी गराएको छ ।

अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षमा नगरले सञ्चालन गरेका तालीमबाट सीप सिकेर उद्यमी बनेका नगरवासीलाई आफ्ना उत्पादनको प्रदर्शन र बिक्रीका लागि स्टल बनाएर ठाउँ उपलब्ध गराउने काम पनि नगरले गरेको छ । दुई आर्थिक वर्षमा नगरका विभिन्न शाखाले सञ्चालन गरेका योजनाको बारेमा फ्लेक्स बोर्डमार्फत् सार्वजनिक गरेको हुनाले नगरले विभिन्न क्षेत्रमा गरेको कामको बारेमा पनि सर्वसाधारणले जानकारी पाए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लेटाङले कृषि क्षेत्रमा गरेको कामको बारेमा आफू जानकार रहेको बताउँदै प्रदर्शनीको अवलोकन गरेपछि थप जानकारी पाएको बताउनुभयो । लेटाङको पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रदेशले सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

नगरले विनियोजन गरेको बजेट र विभिन्न शाखाले सम्पादन गरेको कामको बारेमा जानकारी दिने नयाँ अभ्यासको थालनी अन्य पालिकाका लागि पनि अनुकरणीय हुन सकोस् भनेर छिमेकी पालिकाका प्रमुखलाई पनि जानकारी होस् भनेर निम्ता गरिएको नगर प्रमुख भुपेन्द्रकुमार लावतीले जनाउनुभयो ।

नगरवासीका सामुन्ने बजेट सार्वजनिक गर्न नगरले गरेको नौलो अभ्यासलाई उत्सवको रूपमा लिइएको र आगामी वर्ष पनि निरन्तरता दिइने नगर उपप्रमुख कृष्णकुमारी पोखरेलले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका उत्कृष्ट कर्मचारी, लामो समय शिक्षण गरेर सेवा निवृत्त शिक्षक, अध्यापन र व्यवस्थापनमा उत्कृष्ट ठहरिएका विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष, उत्कृष्ट विद्यार्थी, खेलाडी, चिकित्सकलगायतलाई सम्मान गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments