काठमाडौंः अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको वित्तीय प्रणालीमा तनाव सिर्जना हुन सक्ने चिन्ता व्यक्त गरेको छ ।
आईएमएफको कार्यकारी बोर्डले नेपालका लागि चार वर्षे विस्तारित ऋण सुविधा (इसीएफ) अन्तर्गत तेश्रो समीक्षा गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो ।
आईएमएफले रेमिटान्स र आयातीत वस्तुमा परनिर्भरताका कारण हाल सुविधाजनक अवस्थामा रहेको भनिएको बाह्य क्षेत्रमा जोखिमहरु हाबी रहेको समेत दाबी गरेको छ । ‘आन्तरिक रुपमा बैंकहरुको ब्यालेन्ससिटमा आएको थप गिरावट, वा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को एशिया प्यासिफिक समूहले पहिचान गरेका कमीहरुलाई सम्बोधन गर्न नसक्दा वित्तीय प्रणालीमा तनाव सिर्जना गर्न सक्छ ।’ सार्वजनिक गरिएको समीक्षामा भनिएको छ ।
आईएमएफका डेपुटी म्यानेजिङ डाइरेक्टर तथा निमित्त अध्यक्ष बो लिले मुद्रास्फीति उच्च भए पनि घट्दै गएकोले चनाखो खालको मौद्रिक नीतिलाई कायम राख्नुपर्ने सुझाव दिएका छन् । उनले नेपाललाई मूल्य र बाह्य स्थिरता जोगाउन समेत सुझाव दिएका छन् ।
यसैगरी, वित्तीय नीति कार्यान्वयनमा सजगता अपनाउनुपर्ने, वित्तीय क्षेत्रमा सन्तुलन कायम गर्न नियामकहरु आवश्यक ढाँचाहरु निर्माणमा केन्द्रित हुनुपर्ने समेत सुझाइएको छ ।
आईएमएफले व्यावसायिक वातावरण सुधार गर्ने, मानक पूँजी निर्माणमा ध्यान दिने र सामाजिक सुरक्षाको हालको व्यवस्थामा सुधारका प्रयासलाई जारी राख्नुपर्नेमा जोड दिएको छ ।