विराटचोकः सुन्दरहरैंचा १० मा रहेको रोजाइ मन्टेश्वरी स्कुलले अभिभावक दिवसमा गोला प्रथाद्वरा छानिएका अभिभावक र शिक्षकसहित हरेक वर्ष ग्रामीण पर्यटन घरबास अर्थात् होम स्टेलाई प्रवर्द्धन गर्ने नीति लिएको छ । हरेक वर्ष सो मन्टेश्वरी स्कुलले १ जना विद्यार्थी, उनीहरूका अभिभावक र शिक्षकलाई घरबास सञ्चालित पर्यटकीय क्षेत्रको भ्रमण गराउनुका साथै एक रात बास बसाएर पर्यटन प्रवद्र्धनका साथमा नयाँ कार्यक्रम गर्ने गरेको छ ।
यसै क्रममा सो विद्यालयले केही दिन पहिले इलामको श्रीअन्तु भ्रमण गराई श्रीअन्तुमा सञ्चालित होमस्टेको बारेमा विद्यार्थी, शिक्षक र अभिभावकलाई जानकारी दिने काम गरेको थियो । यस्ता कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकले विद्यालयको नयाँ कामको प्रशंसा गरेकाले कार्यक्रमलाई निरन्तरता दिइएको साथै अझै व्यवस्थित र विस्तारित गरिँदै लैजाने विद्यालयकी प्रिन्सिपल मञ्जु तामाङ बताउनुहुन्छ ।
विद्यालयले पहिलो पटक धनकुटाको साँगुरीगढी गाउँपालिकस्थित नाम्जेमा सञ्चालित होम स्टेमा विद्यार्थी, अभिभावक र शिक्षकलाई बास तथा भ्रमण गराएको थियो । गत वर्ष मोरङको केराबारी गाउँपालिकास्थित जेफालेमा यस्तो आवासीय भ्रमण गराएको विद्यालयका कार्यकारी निर्देशक महेश आचार्यले बताउनुभयो ।
श्रीअन्तु होमस्टेका सञ्चालक ठहरनाथ घिमिरे विद्यालयले यस्तो नयाँ अभ्यास गरेको थाहा पाउँदा खुशी लागेको बताउनुहुन्छ । विद्यालय स्तरबाट यस्तो कार्य हुनु प्रशंसनीय रहेको समेत उहाँले थप्नु भयो । सूर्याेदयको दृश्यावलोकनका लागि परिचित श्रीअन्तुमा टाढाटाढादेखि धेरै पाहुना आउने गरे पनि विद्यालय तहका विद्यार्थी र अभिभावकलाई होम स्टेको बारेमा जानकारी दिन यसरी स्थलगत रूपमा आएको पहिलो पटक आएको आफूले थाहा पाएको घिमिरेको भनाइ छ ।
आगामी वर्ष अझ रचनात्मक कार्यक्रमका साथ ग्रामीण पर्यटन होम स्टे प्रवर्द्धन गर्ने विद्यालयको नीतिलाई निरन्तरता दिइने विद्यालयका निर्देशक आचार्य बताउनुहुन्छ ।