महेन्द्रनगरः नेपालको इतिहासमा २४ घण्टाको अवधिमा सबैभन्दा ठूलो वर्षा कञ्चनपुरमा भएको छ । कञ्चनपुरको दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा २४ घण्टाको अवधिमा ६२४ मिलिमिटर वर्षा भएको छ । जुन वर्षा नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै वर्षाको रेकर्ड हो ।
नेपालमा यसअघि सबैभन्दा धेरै वर्षा २०७४ साल भदौ १ गते (१७ अगष्ट २०१७) मा मकवानपुरको टिस्टुङ पालुङमा भएको थियो । विभागको रेकर्ड अनुसार त्यतिबेला ५१६.२ मिलिमिटर वर्षा मापन भएको थियो ।
दोधारामा यसअघि वर्षा मापन केन्द्र थिएन । दोधारामा २०८० फागुन १२ गतेमात्र स्वचालित स्टेसन जडान गरिएको हो । आइतबार रातिदेखि सोमबार बिहान २ बजेसम्म कञ्चनपुरमा भारी वर्षा भएको थियो ।
कञ्चनपुरका हनुमाननगर र सुन्दरपुर स्टेसनमा पनि २४ घण्टमा क्रमशः ५७३.६ र ५५६.४ मिलिमिटर वर्षा मापन भएको छ । हनुमाननगरमा यसअघि २०५७ साल असार १७ गते (१ जुलाई २०००) मा ५०० मिलिमिटर वर्षा भएको रेकर्ड छ ।
तीन दिन अघि पाल्पाको कुमालगाउँमा २४ घण्टामा ४०८.२ मिलिमिटर वर्षा भएको थियो ।