धरानः नेपाली भाषा तथा साहित्यका कृतिलाई प्रदान गरिने ‘कवि विमल गुरुङ कृति पुरस्कार २०८१’का लागि २०८० सालमा प्रकाशित पुस्तकहरू पठाउन विमल गुरुङ पुस्तकालय धरान–१८ ले आह्वान गरेको छ ।
पुस्तकालयले प्रत्येक वर्ष स्वदेश र विदेशका नेपाली साहित्य साधक, लेखक, कवि, साहित्यकारहरूका प्रकाशित कृतिलाई सम्मान स्वरूप उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
पुस्तकालयले वर्षेनी आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवका लागि पनि कविहरूलाई प्रतियोगितामा सहभागी कविता पठाउन आह्वान गरेको छ ।
कात्तिक २४ गते हुने कवि विमल गुरुङको ५३ औ जन्मजयन्तीमा विजेता कृतिका सर्जकलाई ‘कवि विमल गुरुङ कृति पुरस्कार’ प्रदान गरिने भएको छ । कृति पुरस्कारको राशि नगद २ लाख रुपैयाँ रहेको छ ।
कृति पुरस्कारका लागि तोकिएको समयमा कृति पुस्तकालयमा दर्ता गर्नुपर्ने जनाइएको छ ।
पुस्तकालय सञ्चालन समिति उपाध्यक्ष प्रदीप मेन्याङ्बोका अनुसार कृति पुरस्कारका लागि २०८० साल अर्थात् सन् २०२३ अप्रिल १४ देखि २०२४ अप्रिल १२ भित्र नेपाली भाषामा प्रकाशित जुनसुकै विधाको कृतिले सहभागिता जनाउन पाउनेछ । ४ प्रति कृति २०८१ असोज १५ भित्रमा पुस्तकालयमा दर्ता हुने गरी पठाउनुपर्ने बताइएको छ ।