देविका तिमिल्सिना
जिनको थोत्रो कट्टु र खैरो भेस्ट
सिमेन्ट र बालुवाको मिश्रण
साबेल, बेल्चा र हथौडा
सबेरै उठेर जोरजाम गर्दै
आज पनि हर्कबहादुर
कामको खोजी गर्दै
पुष्पनगरमा भौँतारिइरहेको छ
देशमा यस्ता हर्कबहादुरहरू
लाखौँ छन्
देशमा भन्दा विदेशमा
झन् बढी छन्
सहरको श्रमबजारमा
डोको नाम्लो भिरेर
ढाडदेखि पुट्ठासम्म
पसिना बगाउने कर्म खोजिरहेछन्
लाखौँ हर्कबहादुरहरू भोको आँत लिएर
हर्केभन्दा बढी पैसा कमाउने आशामा
खाडी जान
घरबार बेचेर हिँड्यो नरे भाइ
केही महिनामै
काठको बन्द बाकसमा
निर्जीव भएर रित्तै फक्र्यो नरे भाइ
उसकी सुन्तलीले कोकोहोलो मच्चाई
काखेछोरो आमासँगै च्याँठिदै चिच्यायो
नजिकैको बस्तीबाट माइक कराइरहेथ्यो
समृद्धि र सुख
बस्तीबस्तीमा ल्याउने हो
अझै पनि ज्यामीहरू
समृद्धिको सपना देखिरहेका छैनन्
सपनामा पनि आफूले
पसिना नै बगाइरहेको मात्र देख्छन्
पसिना
नियति र यथार्थ भएको छ गरिखानेका लागि
समृद्धि र विकास
उडिरहेछन् हावामा कावा खाँदै
हवाईजहाजबाट
बलिष्ठ नरेहरू बोकेर
खाडीको आकाशतिर दौडिरहेका छन् ।
सिंहदरबारमा
कैद भएको विकास र समृद्धि निकास नपाएको नदीझैँ
भुमरी बनेर रुमल्लिइरहेको छ
पसिनाको झर्ना बगाएर
कामको खोजी गरिरहँदा
सुनिन्छ साहुको रेडियोमा
समृद्धिको गीत ।
– तिमिल्सिनाको ‘अन्त्य कहाँबाट सुरु हुन्छ’ कृतिबाट