विराटचोकः मुस्ताङमा लटरम्मै स्याउ पाकेको छ । मुखै रसाउने स्वादिलो स्याउ पाकेर डाँडापाखा रंगीन बन्दा असाध्यै मनमोहक देखिन्छ, मुक्तिनाथ ।
मुक्तिनाथको दर्शन गरेपछि घर फर्किंदा प्रसाद र कोसेलीको रूपमा स्याउ ल्याउने गरिन्छ । त्यसैले यो मुस्ताङ घुम्ने र स्याउ चाख्ने सबैभन्दा उपयुक्त समय हो ।
मुक्तिनाथको दर्शन गरी फर्किँदा खाना खाने ठाउँ पर्ने जोमसोम र मार्फाका हरेक पसलमा स्याउ राखिएको हुन्छ । २ केजी र ५ केजीको पोका बनाएर राखिएको रसिलो स्याउ नकिन्ने बिरलै पाइन्छन् ।
सामान्यतः अक्टोबरदेखि डिसेम्बरसम्म मुस्ताङमा पर्यटकको भीडभाड देखिन्छ । यो भीडमा स्वदेशी तथा विदेशी पर्यटकहरू हुन्छन् । विशेषतः भारतीय पर्यटकको चाप यतिबेला मुक्तिनाथमा बढी देखिन्छ । मुक्तिनाथ अधिकांशतः स्थलमार्गबाट पुग्छन् ।
विशेष गरी दशैं तिहारको बिदामा सरकारी कर्मचारीदेखि वैदेशिक रोजगारीबाट फर्केकाहरू बढी मात्रामा समुद्री सतहबाट ३,७१० मिटरको उचाइमा रहेको मुक्तिनाथ पुग्छन् ।
मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीहरूको लागि ठूलो धार्मिक महत्वको तीर्थस्थल हो । मुक्तिनाथमा रहेका १०८ वटा जलाधारमा नुहाउँदा आत्माशुद्धि, नवीकरण र मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ ।
मुक्तिनाथ मन्दिर अन्नपूर्ण सर्किटमा पर्ने जोमसोमबाट २४ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ । तसर्थ, अन्नपूर्ण सर्किट वरिपरि पदयात्रा गर्ने पदयात्रीहरूबाट मन्दिरको धेरै भ्रमण हुन्छन् ।
मुक्तिनाथ क्षेत्रलाई मुक्ति क्षेत्र भनेर पनि चिनिन्छ जहाँबाट मोक्ष प्राप्त गर्न सकिन्छ । नेपालका चार धाममध्ये यो एक हो । यस मन्दिरलाई वैष्णव सम्प्रदायले पवित्र मानिने १०८ दिव्य देशाटनमध्ये १०६औं मन्दिर मानिन्छ । वैष्णव साहित्यमा यसको प्राचीन नाम तिरु शालिग्राम हो ।
बौद्धहरूले यसलाई चुमिग ग्यात्सा भन्छन्, जसको तिब्बती अर्थ ‘सय पानी’ हो । तिब्बती बौद्धहरूका लागि मुक्तिनाथ डाकिनी, स्काई नर्तक भनेर चिनिने देवी र २४ तान्त्रिक स्थानमध्ये एक महत्वपूर्ण स्थान हो । तिनीहरूले मूर्तिलाई अवलोकितेश्वरको अभिव्यक्ति हो भनेर बुझ्छन्, जसले सबै बुद्धहरूको करुणालाई मूर्तरूप दिन्छन् ।