बाँसबारीः सुन्दरहरैंचा ५ बाँसबारीमा रहेको सफल सिद्धार्थ एकेडेमीले बिहीबार विद्यालयको ३१ औँ वार्षिकोत्सव मनाएको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीले गायन र नृत्यका साथमा नाटक तथा कविता प्रस्तुत गरेका थिए । अभिभावकको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा अभिभावकको तर्फबाट बाबुराम अधिकारीले मन्तव्य राख्नुभएको थियो । विद्यालयले दिने शिक्षामा संस्कार र संस्कृति संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । अमेरिका, अष्ट्रेलिया र क्यानडा छोराछोरी जान पाउँदा खुशी हुनु भनेको देश विकास नहुनु र देशको अर्थतन्त्रमा असर पुग्नुको सङ्केत रहेको बताउनुभयो ।
विद्यालय सञ्चालक सदस्य गोविन्द कार्कीले पछिल्लो समय सफल सिद्धार्थले स्वास्थ्य शिविर सञ्चालन गरेर अभिभावकलाई सुलभ मूल्यमा स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनुभयो । आगामी शैक्षिक सत्रदेखि इटहरीस्थित सुस्वास्थ्य डेन्टल क्लिनिकको सहकार्यमा विद्यार्थीलाई उपचार शुल्कमा छुट दिने व्यवस्था मिलाइएको बताउनुभयो ।
चाँडै नै विद्यालय एप्स निर्माण गरी सञ्चालन गरिने तथा अमेरिका, क्यानडालगायतका देशमा भएका पूर्व विद्यार्थीसँग समन्वय गरी अनुभव आदानप्रदान गर्न जोड दिइने बताउनुभयो । सामाजिक संघसंस्थालाई पुरस्कृत गरिनेलगायतका काममा विद्यालय अघि बढ्ने उहाँको भनाइ थियो ।
विद्यार्थीबीच पढाइमा प्रतिष्पर्धा बढाउन हरेक त्रैमासिक परीक्षामा उत्कृष्ट हुनेलाई पुरस्कृत गर्ने व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।
नयाँ वृन्दावन गौशालाका संरक्षक दीनबन्धु शास्त्रीले नेपालको संस्कृति र संरक्षण प्रवद्र्धनमा सफल सिद्धार्थ लागिरहेको आफूले पाएको बताउनुभयो । केही समय पहिले पूर्व पश्चिम राजमार्गबाट उत्तरतर्फ कम बस्ती रहेकोमा सफल सिद्धार्थ एकेडेमीले स्तरीय शिक्षा दिन थालेपछि बस्ती बढेको बताउनुहुँदै त्यसबाट विद्यालयको शिक्षा गुणस्तरीय रहेको प्रष्ट हुने बताउनुभयो ।
वडा नम्बर ५ का वडाध्यक्ष गणेश चौधरीको प्रमुख आतिथ्यता तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष लेखुप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक मिनाक्षी रानामगरले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।