फुङलिङः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस पात झरेर पुरानो भइसकेको हुनाले आफूले मुना पलाएको हेर्न चाहे पनि कांग्रेसकै कारण सम्भव नभएको बताउनुभएको छ ।
बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘म कांग्रेसको पात नझरोस् र झरेको पातमा नयाँ मुना पलाओस् भन्छु, कांग्रेस मति बिगारिरहन्छ ।’
अध्यक्ष ओलीले अस्थिरताको अन्त्य गर्न र राष्ट्रियता बलियो बनाउने लक्ष्यसहित एमालेले ‘मिसन २०८४’ को अभियान शुरु गरेको बताउनुभयो । सदरमुकाम फुङ्लिङस्थित एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने र राजनीतिक अस्थिरताको अन्त्य हुने दाबी गर्नुभयो । पार्टीले लिएको लक्ष्यअनुसार मिसन २०८४ लाई सफल बनाउनेगरी एक ढिक्का भएर अभियानमा लाग्न कार्यकर्तालाई उहाँले निर्देशन दिनुभएको छ ।
यसअघि एमालेविरुद्ध गठबन्धन गरिएकाले अस्थिरता बढ्नुका साथै राष्ट्रियता झनै कमजोर भएको तथा देशमा विकास निर्माण ठप्प भएको, अर्थतन्त्र धराशायी बनेको, भ्रष्टाचार मौलाएको आरोप पनि उहाँले लगाउनुभयो ।
ओलीसँगै आएका उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरि उप्रेती, एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईलगायतको टोलीले निर्माणाधीन ताप्लेजुङ–टिपताला सडकको निरीक्षण गरेको थियो ।