इनरुवाः सामाजिक सञ्जालमा सार्वजनिक भएको अभिव्यक्तिको विषयलाई लिएर विवाद हुँदै झडपको स्थितिमा पुग्नुका साथै कर्फ्यु लगाउनुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सामाजिक सञ्जालमा सद्भाव भड्किने अभिव्यक्ति नदिन अनुरोध गरेको छ ।
भ्रामक किसिमका अभिव्यक्तिहरुको कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै त्यस्ता पोष्टहरु नगर्न अनुरोध गरेको छ । सुनसरीका का.मु. प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले शुक्रबार साँझ अपिल जारी गर्दै धार्मिक, सांस्कृतिक, जातीय तथा सामाजिक सद्भाव खलल पुर्याउने किसिमका अभिव्यक्ति तथा सामग्रीहरु सामाजिक सञ्जालमा पोष्ट नगर्न अनुरोध गर्नुभएको हो ।
सामाजिक सञ्जालको दुरुपयोग गरी सामाजिक सद्भावमा खलल पुर्याउने, धार्मिक, सांस्कृतिक तथा जातीय द्वन्द्व निम्त्याउने प्रकारका गतिविधि र क्रियाकलापहरु गरेको पाइएमा त्यस्ता व्यक्तिहरुको निगरानी गरेर प्रचलित कानुनबमोजिम कारबाही गर्ने प्रशासनले जनाएको छ ।
सुनसरीमा भएको घटनापछिको अवस्थालाई हेरेर प्रशासनले ५ वटा पालिकाका अनिश्चित कर्फ्यु लगाएको छ ।