विराटचोकः इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना कोशी प्रदेशको फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।
विभागीय मूल्य–मान्यता आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा तिमल्सिनाले फागुन महिनामा गरेको कार्य प्रदेशमै उत्कृष्ट ठहरिएको हो ।
तिमल्सिनाले प्रदेश ०१–०२–००१ ज ४०५० नं. को गाडी सहित ४०६ के.जी. ९४० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गर्नुका साथै को १ च २९३७ नं. को एम्बुलेन्समा २७३ के.जी. १३० ग्राम गाँजा बरामद गरी फरार रहेका ६ जनालाई पक्राउ गर्नुभएको थियो ।
त्यस्तै, सप्तकोशीको बाढी नियन्त्रण गर्न लगाइएको पर्क्युपाईन (त्रिखुट्टी) पिलर ५२ वटा चोरी गर्ने ४ जना मानिस पक्राउ गर्नुका साथै युवतीलाई आफ्नो काबुमा पारी जबरजस्ती करणी उद्योग गर्ने सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. २ बस्ने सुनिल सिटौलालाई पक्राउ गर्नुभएको थियो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बहु–विवाह मुद्दामा फरार सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. ८ बस्ने २ जना प्रतिवादी पक्राउ गर्न र वराहक्षेत्र नगरपालिका वडा नं. ५ कालाबञ्जरमा तास खेलिरहेको अवस्थामा ५ बुङ तास, नगद रुपैयाँ सहित ५ जना मानिसहरू नियन्त्रणमा लिन उहाँ सफल हुनुभएको थियो । विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ७ जना अभियुक्तहरूलाई नियन्त्रणमा लिनुका साथै विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी आफूलाई दिइएको जिम्मेवारी उच्च मनोबलका साथ उहाँले निर्वाह गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयले प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै प्रदेशका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्ने गरेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिण्ट गरेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा कोशी प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरूमा १ महिनासम्म राख्ने गरिन्छ ।







