गछियाः सुन्दरहरैँचा नगरपालिकाले विद्यालयमा ‘छात्रासँग उपप्रमुख’ कार्यक्रम शुरू गरेको छ । मङ्गलबार वडा नम्बर ३ मा रहेको जनता मा.वि. र श्रीखण्ड मा.वि.मा नगर उपप्रमुख अकली चौधरीले सुझाव पेटिका राख्नुका साथै छात्रासँग अन्तरक्रिया गरेर कार्यक्रमको शुरुवात गर्नुभएको हो ।
विद्यालयमा देखिएका समस्यालाई समाधान गर्न गोप्य सूचनाको पहुँच सबैलाई दिलाउन सुझाव पेटिका राखिएको उपप्रमुख चौधरीले बताउनुभयो । आफूमाथि हुने दुर्व्यवहार, हिंसा र कुनै प्रकारका समस्या कसैलाई भन्न नसकेको अवस्थामा सुझाव पेटिकामा आफ्ना कुराहरू राखेर व्यक्त गर्न सकिने तथा अन्य विद्यार्थीले विद्यालयसँग सम्बन्धित विषय राख्न सक्ने उपप्रमुख चौधरीको भनाइ थियो ।
सो कार्यक्रमअन्तर्गत विद्यार्थीहरूका समस्या, समाधानका उपाय, हिंसा कसरी हुन्छ, राम्रो छुवाई र नराम्रो छुवाई, सामाजिक सञ्जालको गलत प्रयोगले निम्तिने समस्या, व्यक्तिगत घटना दर्ता लगायत विषयमा जानकारी दिइएको थियो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख लीलादेवी ओझाले परिवार, समाज र विद्यालयमा थाहा नपाई कुनै हिंसा भएको हुन सक्ने भन्दै कुनकुन अवस्थामा हिंसा हुन्छन् र त्यसलाई कसरी प्रतिकार गर्ने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।
यस्तै समाजमा हुने विभिन्न सामाजिक विभेदका विषयमा सामाजिक विकास शाखाका अधिकृत अनिल पोख्रेलले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा उजुरी प्रशासक निरज न्यौपानेले व्यक्तिगत घटना दर्ता र सामाजिक सञ्जालको गलत प्रयोगले हुने समस्याका बारेमा भिडियो मार्फत प्रस्तुति दिनुभएको थियो ।
विद्यालयमा हुने यस्ता कार्यक्रमहरुले आफ्नो हौसला बढेको सहभागी विद्यार्थीले बताएका थिए ।
छात्रामाथि हुने दुर्व्यवहार अन्त्य गर्नु कार्यक्रमको उद्देश्य रहेको नगरप्रमुख केदारप्रसाद गुरागाईले बताउनुभयो । योग्य नागरिक बनाउन अहिलेको पुस्तालाई सकारात्मक विचार दिन यो कार्यक्रम ल्याइएको उहाँको भनाइ थियो ।
यो कार्यक्रमले विद्यार्थीको मनोबल बढ्नुका साथै विद्यालयको सर्वाङ्गीण विकासमा टेवा पुग्ने श्रीखण्ड माविका प्रधानाध्यापक घनश्याम भट्टराईले बताउनुभयो ।