विराटचोकः बुक बिल्डिङमार्फत् नेपालमै पहिलो पटक सर्वोत्तम सिमेन्ट लिमिटेडले आइतबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता शेयर पनि सर्वसाधारणका लागि थपेर २७ लाख ७६ हजार ७६ कित्ता शेयर बिक्रीमा राखेको हो ।
सो कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ बिक्री बन्द छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गते हुने सो कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
सम्बन्धित समाचारहरु
फागुन १३ गतेदेखि सर्वोत्तम सिमेन्टको आईपीओ बिक्री, न्यूनतम ५० कित्ता माग गर्नुपर्ने
सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आइपीओ तत्काल रोक्न माग
प्रिमियम मूल्यमा निष्कासन भएको र बुक बिल्डिङको पहिलो कारोबार निस्कासन भएको मूल्य जति नै