विराटचोकः सुन्दरहरैंचाकी प्रथम नगरमाता महेश्वरा अधिकारीको स्मृतिमा प्रकाशित ‘नगरमाता महेश्वरा अधिकारी’ स्मृति ग्रन्थ शुक्रबार लोकार्पण गरिएको छ । अधिकारीलाई मोरङको सुन्दरहरैँचा नगरपालिकाले २०७५ सालमा नगरमाता घोषणा गरेको थियो ।
शुक्रबार स्वर्गीय नगरमाताको निवासमा आयोजित कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईंले सो स्मृति ग्रन्थको लोकार्पण गर्नुभएको हो । १ सय १४ वर्षको उमेरमा २०७९ साल भदौमा उहाँको देहावसान भएको थियो । स्मृति ग्रन्थले आजभन्दा १०० वर्षअघिको र त्यसपछिको ग्रामीण जनजीवनलाई बुझ्न सहयोग पुर्याउने र दुर्लभ आयु पाउने नगरमाताको आनीबानी र विचार अनुकरणीय पनि हुन सक्ने सोचका साथ स्मृति ग्रन्थ प्रकाशन गरिएको स्वागत मन्तव्यको क्रममा नगरमाताका नाति हेमचन्द्र अधिकारीले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले स्मृति ग्रन्थमा स्वर्गीय नगरमाताको बालापनदेखि जीवन भोगाइका साथै आनीबानी समेटिएको सो ग्रन्थ अहिलेको पुस्तको लागि उदाहरणीय हुन सक्ने भन्दै पुस्तक प्रकाशनले त्यो बेलाका भोगाई अहिलेका पुस्तालाई बुझ्ने र सिक्ने माध्यम हुन सक्ने बताउनुभयो । ज्येष्ठ नागरिकलाई नगरले गर्ने सम्मानमा कमी हुन नदिने उहाँको भनाइ थियो । उहाँले नगरमातासँगका भोगाइहरु समेटेर प्रकाशन गरिएको स्मृति ग्रन्थ नगरपालिकाका लागि समेत एउटा ऐतिहासिक दस्तावेजको रूपमा रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व जनप्रतिनिधिको तर्फबाट सम्बोधन गर्दै सुन्दरहरैंचा ७ का पूर्व वडाध्यक्ष चैतन्यप्रसाद सिटौलाले आफू न्यायिक समितिमा बसेर काम गर्दा ज्येष्ठ नागरिकमाथि भएका अपहेलनासम्बन्धी आएका उजुरी उल्लेख्य सङ्ख्यामा रहने गरेको स्मरण गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकको सम्मान गर्न पछिल्लो पुस्ता चुक्दै गएको अवस्थामा प्रकाशित हुने स्मृति ग्रन्थले केही चेतना पलाउने बताउनुभयो ।
विराट साहित्य समाजका अध्यक्ष उमानाथ भट्टराईले कृतिले दीर्घजीवनका केही रहस्य बोकेको उल्लेख गर्दै आफूले केही मिनेट अघि पाएको पुस्तक अध्ययन गर्दा त्यस्ता केही तथ्य भेटेको बताउनुभयो । नगरमाता शृङ्गारमा रुचि राख्नुहुन्थ्यो र खानामा शौखिन हुनुहुन्न्थ्यो भन्ने कुरा आफूले थाहा पाएको उहाँको भनाइ थियो । शृङ्गारमा रुचि राख्दा अथवा पोल्टामा सधैँ ऐना राखेर अनुहार हेर्ने बानीले आफ्नो स्वास्थ्य अवस्था देखाउने तथा दशैंमा समेत गुन्द्रुक र भातमा सन्तुष्ट हुनुले खानामा शौखिन हुनुहुँदैन भन्ने सन्देश आफूले पाएको उहाँले प्रष्ट्याउनुभयो ।
कार्यक्रममा प्राध्यापक टोलनाथ काफ्लेले स्मृतिग्रन्थ र नगरमाताका बारेमा चर्चा गर्नुभएको थियो ।
सुन्दहरैंचा नगरपालिकाको सामाजिक शाखाका अनिल पोखरेलले स्मृति ग्रन्थमा भएको गजल वाचन गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रवक्ता तथा सुन्दरहरैंचा १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल, सुन्दरहरैंचा ७ का वडाध्यक्ष भुवनसिंह आलेमगर, वडासदस्यहरु, पूर्व जनप्रतिनिधिहरु, लेखक, प्राध्यापक, विभिन्न दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, नगरमाताका आफन्त तथा छरछिमेकीलगायतको उपस्थिति रहेको थियो ।
पुस्तक प्रकाशक सुकुना मिडिया एण्ड सर्भिस प्रालिका अध्यक्ष शर्मिला घिमिरे सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्मृतिग्रन्थका सम्पादक खेमचन्द्र अधिकारीले सञ्चालन गर्नुभएको थियो ।