सोलुखुम्बुः सर्वोच्च शिखर सगरमाथा आरोहीका लागि फोहोरमैला व्यवस्थापन गर्ने स्थानीय तहको अधिकार क्षेत्र प्रयोग गर्दै सगरमाथा रहेको स्थानीय तह सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाले ‘आधार शिविर व्यवस्थापन कार्यविधि २०८०’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।
२३ माघमा कार्यपालिकाबाट स्वीकृत उक्त कार्यविधि २४ माघमा प्रमाणीकरण भएको छ । यो कार्यविधिअनुसार अब आरोहीले सगरमाथाको आधार शिविर तथा आरोहणका क्रममा खुला ठाउँमा दिसापिसाब गर्न पाउने छैनन् । आरोहीले ‘पुप ब्याग’ वा ‘बायोडिग्रेडेबल ब्याग’ प्रयोग गर्नुपर्ने छ ।
सगरमाथासहित ल्होत्से, नुप्त्से र आमादब्लम हिमालमा समेत सोही कार्यविधि लागू भएको छ । कार्यविधि अनुसार अब सगरमाथा, ल्होत्से र न्हुप्त्सेबाट हरेक आरोहीले ८ किलो र अमादब्लमबाट ३ किलो फोहोर अनिवार्य आधार शिविरमा झार्नुपर्ने भएको छ ।
वातावरणीय प्रभाव न्यूनीकरण गर्न ‘लिभ नो ट्र्यास’ सिद्धान्त तथा जिम्मेवार पर्वतारोहण अभ्यास प्रवद्र्धन गर्न यस्तो नियम लगाउनुपरेको कार्यविधिमा उल्लेख छ । आधार शिविर क्षेत्र सफा राख्न हरेक आरोहण दलले क्याम्प वरपर नियमित सरसफाइ अभियान चलाउनुपर्ने छ । आधार शिविरभन्दा माथि चाहिने सामानको सूची तयार गरी अनिवार्य दर्ता गराउनुपर्ने छ ।
पर्वतारोहण अभियान सकिपछि यस अभियान दौरान प्रयोग भएका सामान र टाँगिएका डोरी आधार शिविरमै फिर्ता ल्याउनुपर्ने नियम पनि बनेको छ । आधार शिविरभन्दा माथि खाद्यान्न तथा अन्य सामग्री भण्डारण गरेर राख्न नपाइने भएको छ । आधार शिविरभन्दा माथि बक्स टेन्ट प्रयोगमा समेत रोक लगाइएको छ ।
शिविरमा सुत्ने टेन्टमा अट्याच ट्वाइलेट बनाउन पाइने छैन । हरेक क्याम्पमा १५ जनासम्मको सामूहिक प्रयोजनका लागि अधिकतम ४ वटा ट्वाइलेट टेन्ट बनाउनुपर्ने भएको छ । यसबाहेक थप दुई सावर टेन्ट र दुई युरिन ट्वाइलेट टेन्ट बनाउन पाइने भएको छ । खाली टेन्ट टाँगेर राख्नसमेत निषेध गरिएको छ । आधार शिविरमा सुत्न प्रतिव्यक्ति अधिकतम ८० वर्गफिट र भोजनका लागि प्रतिव्यक्ति १० वर्गफिट क्षेत्रफल मात्र प्रयोग गर्न पाइने भएको छ ।
आधार शिविरमा लामो दूरीसम्म देखिने चम्किलो र टाढाबाट नै झिलिमिली देखिने गरी बत्ती बाल्न निषेध गरिएको छ ।आपतकालीन अवस्था बाहेक रात्रिकालीन समयमा क्याम्प परिसरमा बत्ती अनिवार्य बन्द गर्नुपर्ने र आधार शिविरमा क्याम्प बनाउँदा ढुंगालगायत स्थानीय सामग्री तोफोड गर्न समेत निषेध गरिएको छ ।
गाउँपालिका भित्रका कुनै पनि हिमाल चुलीका आधार शिविरमा आरोहण दल, ट्रेकिङ एजेन्सी, होटल व्यवसायी वा कुनै पनि व्यक्ति वा संस्थाले व्यावसायिक गतिविधिका लागि स्थायी टेन्ट बनाउन नपाउने भएका छन् ।