इनरुवाः डिजेल पम्पसेटबाट सिँचाइ गर्दा महँगो खर्च व्यहोर्दै आएका सुनसरीको देवानगञ्ज गाउँपालिकाका किसानले अब विद्युतीय मोटरमार्फत् सस्तोमा सिँचाइ सुविधा पाउने भएका छन् ।
किसानको उत्पादन लागत घटाउने उद्देश्यले गाउँपालिकाले सञ्चालन गरेको कृषि सिँचाइ विद्युतीकरण आयोजना अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र गाउँपालिकाको साझेदारीमा करिब ३० करोड रुपैयाँको लगानीमा आयोजना सञ्चालन भइरहेको छ ।
आयोजना सम्पन्न भएपछि खेतखेतमा विद्युत् विस्तार गरी विद्युतीय मोटरबाट पानी तान्ने व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ ।
हाल डिजेल पम्पसेटबाट सिँचाइ गर्दा प्रतिघण्टा करिब ३०० रुपैयाँ खर्च हुने गरेको गरेकोमा बिजुलीमार्फत् सिँचाइ गर्दा प्रतिघण्टा ५० रुपैयाँभन्दा कम खर्च हुने जनाइएको छ ।
त्यस्तै, निजी पम्पसेट नभएका किसानले अरूको पम्पसेट प्रयोग गर्दा डिजेल खर्चबाहेक प्रतिघण्टा करिब २०० रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता रहेको किसान बताउँछन् ।





