भरतपुरः कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको छ ।
समाजले नारायणगढमा पत्रकार सम्मेलन आयोजना गरी यस वर्षको पुरस्कार ‘राजमाता’लाई दिने निर्णय सार्वजनिक गरेको हो । समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपियाँ रहेको छ । सो पुरस्कार आगामी कात्तिक १४ गते भरतपुरमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिने भएको छ ।
पुरस्कारका लागि शुरुमा १६ आख्यानकृति विस्तारित सूचीमा परेका थिए । तीमध्ये केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, नीलम कार्की निहारिकाको ‘राजमाता’, लक्ष्मण वियोगीको ‘सत्यम्’, श्रवण मुकारुङको ‘सलह’ र शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ उत्कृष्ट आठमा छनोट भएका थिए ।
उत्कृष्ट आठबाट अन्तिम तीनमा ‘तोरकीन’, ‘महायुग’ र ‘राजमाता’ पुगेका थिए । ती तीनमध्ये ‘राजमाता’लाई सर्वोत्कृष्ट आख्यानकृतिका रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।





