Saturday, October 3, 2026
Homeअर्थहातेमालो बहुउद्देश्यीय सहकारीले मनायो रजत जयन्ती

हातेमालो बहुउद्देश्यीय सहकारीले मनायो रजत जयन्ती

विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, खोर्सानेस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २५ औँ स्थापना दिवस अर्थात् रजत जयन्ती मनाएको छ ।

विभिन्न कार्यक्रमसहित सप्ताहव्यापी रूपमा मनाइएको रजत जयन्ती शुक्रबार इन्द्रपुर जेसीजको सभाहलमा साधारणसभा तथा समापन कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको हो । कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष अर्जुन बस्नेतलगायतको उपस्थिति थियो ।

कार्यक्रममा अध्यक्ष हेमराज सुवेदीले सहकारीले बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई सदस्यलाई आर्थिक रूपमा सचेत, सक्षम, जिम्मेवार, अनुशासित र आत्मनिर्भर बनाउन काम गरिरहेको बताए । संस्थाले स्थानीय कृषकलाई उत्पादनसँग जोड्दै उत्पादन संकलन, प्रशोधन, प्याकेजिङ तथा बजारीकरणमार्फत आयआर्जनसँग जोड्ने काम गरिरहेको उनको भनाइ छ ।

सहकारीले शुद्ध तोरीको तेल, चामल, बेसारलगायत खाद्य सामग्रीसमेत बिक्री गर्दै आएको छ । संखुवासभाली बहुउद्देश्यीय सहकारी, जनभावना कृषि सहकारी र किस्ती जलाधार कृषि सहकारीसँग एकीकरण गरेपछि संस्थाको कारोबार थप फराकिलो भएको अध्यक्ष सुवेदीले बताए ।

रजत जयन्तीका अवसरमा संस्थाले ७७ जना पूर्वपदाधिकारी तथा पूर्वसञ्चालकलाई ‘अग्रज सम्मान’ प्रदान गरेको छ ।

सहकारीले ‘हातेमालो स्मारिका–२०८३’ समेत प्रकाशन गरेको छ । १२९ पृष्ठको स्मारिकामा सहकारी क्षेत्रसँग सम्बन्धित व्यक्तिका लेख, रचना तथा विचारका साथै संस्थाको परिचय र प्रतिवेदन समेटिएको छ । स्मारिका सम्पादन संयोजक गुरुप्रसाद अधिकारी तथा सदस्य बलराम पोखरेल र व्यवस्थापक योजना शर्माको संयोजनमा तयार भएको हो ।

संस्थाले आर्थिक वर्ष २०८३÷०८४ का लागि शेयर पूँजी, बचत तथा ऋण वृद्धि गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम पारित गरेको छ । ऋण असुलीलाई प्रभावकारी बनाउने, लघु उद्योग सञ्चालन तथा नयाँ भवन निर्माण गर्ने र नयाँ भवनमा अत्याधुनिक मिल सञ्चालन गर्ने योजना पनि अघि सारेको छ ।

यस्तै युवालाई सहकारीमा जोड्ने, सहकारी शिक्षा तथा तालिम सञ्चालन गर्ने र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने योजना संस्थाले लिएको छ ।

रजत जयन्ती कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी तथा उत्कृष्ट कार्यसम्पादन गर्ने सञ्चालकलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । व्यवस्थापक योजना शर्मालाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।

सञ्चालक समितितर्फ उपाध्यक्ष मीनप्रसाद लिम्बू र यज्ञप्रसाद ढकाल तथा कर्मचारीतर्फ वरिष्ठ सहायक कमला दाहाल बराल, सहायक तेजप्रसाद आचार्य र कनिष्ठ सहायक हिमादेवी अधिकारी सम्मानित भएका छन् ।

त्यस्तै व्यावसायिक ऋणीतर्फ तेजकुमार श्रेष्ठ, टेकबहादुर खत्री र पदमबहादुर थापा, घरायसी ऋणीतर्फ मित्रजङ्ग थापा तथा कृषि ऋणीतर्फ राजेन्द्र शर्मा, टोसबहादुर श्रेष्ठ र प्रमिलाकुमारी महतो सम्मानित भएका छन् ।

नियमित बचतकर्तातर्फ इन्द्रमाया कार्की, रत्नमाया श्रेष्ठ र देवी राई तथा खुत्रुके बाल बचततर्फ श्रिया कार्की, सुगम तामाङ र नवनजंग कार्कीलाई सम्मान गरिएको छ ।

यसैगरी २०८२ सालको एसईई परीक्षामा उत्तीर्ण हुने शेयर सदस्यका छोराछोरीतर्फ रोयल देवकोटा, ओमप्रकाश पराजुली, स्वस्तिका शर्मा, शिशिर ढकाल, साहिल ढकाल र आदित्यराज बराललाई सम्मान गरिएको संस्थाले जनाएको छ ।

रजत जयन्तीको अवसरमा संस्थाले साताव्यापी कार्यक्रम आयोजना गरेको थियो । जसअन्तर्गत असोज ११ गते आँखा शिविर, असोज १२ गते चेस प्रतियोगिता, असोज १३ गते अन्तरक्रिया र असोज १५ गते संस्थाको लोगो अनावरण गरिएको थियो ।

संस्थामा ५ करोड ९२ लाख ७२ हजार ७०० रुपैयाँ शेयर पूँजी रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments