लेटाङ । मोरङको लेटाङमा अचम्मको घटना भएको छ । छोराको मृत्यु भएको ठानेर चिसाङ खोलामा अन्त्येष्टि गरिसकेको परिवारले शोकका कारण यस वर्षको दशैंमा टीकासमेत लगाएन । तर, दशैँको पूर्णिमाका दिन तिनै छोरा जीवितै घर फर्किएपछि परिवारमा खुसीसँगै आश्चर्य छाएको छ ।
मोरङको लेटाङ नगरपालिका–५ खेरुवाका ३६ वर्षीय पदमबहादुर राय जीवितै घर फर्किएपछि परिवारका सदस्यसँगै स्थानीय आश्चर्यचकित भएका हुन् । गत माघदेखि सम्पर्कविहीन रहेका पदमबहादुरको मृत्यु भएको ठानेर परिवारले गत जेठमा अन्त्येष्टि गरेको थियो ।
स्थानीयका अनुसार मानसिक स्वास्थ्य अवस्था कमजोर रहेका पदमबहादुर कसैलाई जानकारी नदिई समयसमयमा घर छाडेर हिँड्ने गर्थे । यसअघि हराउँदा कहिले आफैँ घर फर्किने र कहिले परिवारले खोजेर ल्याउने गरेका थिए । तर, गत माघमा घर छाडेपछि उनी लामो समयसम्म सम्पर्कमा आएनन् ।
गत जेठ २६ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भए । उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याइएका उनको भोलिपल्ट मृत्यु भएको थियो ।
मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले शव कोशी अस्पतालको शवगृहमा राखेर आफन्तको खोजीका लागि सार्वजनिक सूचना जारी गरेको थियो । सो सूचना थाहा पाएपछि अस्पताल पुगेकी पदमबहादुरकी आमाले शव आफ्नै छोराको भएको भन्दै सनाखत गरेपछि प्रहरीले शव परिवारलाई जिम्मा दिएको थियो ।
त्यसपछि परिवारले शव चिसाङ खोलामा लगेर अन्त्येष्टि गरेको थियो । छोरा गुमाएको पीडामा रहेको परिवारले यस वर्षको दशैं मनाएन । तर, दशैंको पूर्णिमाका दिन पदमबहादुर घर फर्किए ।
पदमबहादुरले आफू भारतमा रहेको बताएका छन् । तर, उनी माघदेखि कहाँ बसेका थिए, कसरी भारत पुगे र यति लामो समयसम्म परिवारको सम्पर्कमा किन आएनन् भन्ने विषय स्पष्ट भइसकेको छैन ।
पदमबहादुर जीवितै फर्किएपछि परिवारले अर्कै व्यक्तिको शवलाई आफ्नै सदस्यको ठानेर अन्त्येष्टि गरेको खुलेको छ । सो दुर्घटनामा मृत्यु भएका व्यक्तिका वास्तविक आफन्त अहिलेसम्म सम्पर्कमा आएका छैनन् । परिवारले आफ्नै सदस्य ठानेर अर्कै व्यक्तिको अन्त्येष्टि गरेको घटनाले शव पहिचान र सनाखत प्रक्रियामाथि समेत प्रश्न उठाएको छ ।
प्रहरीका अनुसार दुर्घटनापछि पदमबहादुरको परिवारले दुर्घटना बीमाबापतको ५ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति रकमसमेत बुझिसकेको थियो । उनी जीवितै भेटिएपछि उक्त रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ ।
प्रहरीले सो दुर्घटनासँग सम्बन्धित पुराना तस्बिर र भिडिओको अध्ययन थालेको छ ।
प्रहरीको अनुसन्धान अब दुई वटा प्रश्नमा केन्द्रित हुने भएको छ । त्यसबेला दुर्घटनामा परेका व्यक्तिको वास्तविक पहिचान के थियो भन्ने प्रश्न उठेको छ ।
विवाहपछि श्रीमती अलग्गिएपछि पदमबहादुर घरमा नियमित नबस्ने गरेको बताइएको छ ।





