विराटचोकः सामान्यतः निर्वाचन भन्नेबित्तिकै त्यहाँ दुई पक्ष हुन्छन् । दुवै पक्षमा नेता र कार्यकर्ता बाँडिन्छन् । तर, नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ३ को निर्वाचनमा भने नेताहरु एकातिर र कार्यकर्ता एकातिर देखिएको कांग्रेस कार्यकर्ता बताउँछन् । क्षेत्र नम्बर ३ को सभापति पदमा सुन्दरहरैंचाका राजेन्द्र ढकाल र बेलबारीका राजेन्द्र अधिकारी चुनावी मैदानमा छन् ।
कार्यकर्ताहरुका अनुसार मोरङको क्षेत्र नम्बर ३ का अधिकांश प्रभावशाली र ठूला भनिएका नेताहरुले पूर्व सांसद सुनिलकुमार शर्माका दाहिने हातका रुपमा रहेका राजेन्द्र अधिकारीको पक्षमा मत मागिरहेका छन् । अधिकारी वर्तमान क्षेत्रीय सचिव हुन् ।
अधिकारीलाई शर्माका साथै पूर्व प्रदेश मन्त्री मानबहादुर लिम्बू, पूर्व प्रदेश सांसद लोकप्रसाद संग्रौला, सुन्दरहरैंचाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, नेपाली कांग्रेस मोरङका सचिव ललित श्रेष्ठलगायतले समर्थन गरेका छन् ।
यता, निर्वाचनमा मतदान गर्न बिहानैदेखि आएका कार्यकर्ता भने मतदान प्रक्रिया बीचैमा रोकिएपछि नेताको गठबन्धन विरुद्ध लागे । बिहानसम्म अधिकारीको पक्षमा मत मागेका कार्यकर्ताले बिहान बित्दै जाँदा ढकालको पक्षमा मत माग्न थाले । त्यो दृश्य देखेका र त्यस्तो घटना सुनेका नेताहरु अन्ततः चुनावी प्रक्रिया स्थगित गर्ने अवस्थामा पुगे ।
जसका कारण ३ बजे मतदान शुरु हुने भनिए पनि ३ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली नै टाँसिएको थिएन । मतदान स्थलमा उपस्थित ढकाल पक्षीय कार्यकर्ताले तुरुन्तै मतदान शुरु गर्न दबाब दिएका थिए । मतदान प्रक्रियाका लागि खटिएका निर्वाचन अधिकृतलगायतसँग चर्काचर्की पर्न थालेपछि मतदान अधिकृतको कार्यालयले उम्मेद्वारको अन्तिम नामावली टाँसेको थियो ।
त्यसपछि ४ बजे मतदान शुरु गर्ने भनिए पनि ४ बजेर २० मिनेट जाँदासम्म मतदान शुरु भएको छैन । मतदानका लाग कार्यकर्ता लाइनमा लागेका छन् ।





