इनरुवाः सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर १० जल्पापुरमा अज्ञात व्यक्तिले साँढेमाथि अत्यधिक तातो पानी खन्याउँदा घाइते भएको घटना सार्वजनिक भएको छ ।
सामाजिक सञ्जालमा घाइते साँढेको तस्बिर सार्वजनिक भएपछि घटनाको चौतर्फी विरोध भएको छ । इनरुवा नगरपालिकाको पशु शाखाले घटनाप्रति गम्भीर चासो देखाएको छ । नगरपालिकाका पशु शाखा प्रमुख डा. राजकुमार यादवको नेतृत्वमा विशेषज्ञ चिकित्सकको टोली घटनास्थल जल्पापुर पुगेर उपचार शुरु गरेको छ ।
केही दिनअघि अज्ञात व्यक्तिले सो साँढेको शरीरमा अत्यधिक तातो पानी खन्याएका थिए ।
पशु चिकित्सकको टोलीले घाइते साँढेको घाउ सफा गर्ने, संक्रमण फैलिन नदिन औषधि लगाउने तथा आवश्यक मलमपट्टी लगाउने काम गरेको जनाएको छ ।
स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग माग गरेका छन् ।





