काठमाडौंः काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका अन्य जिल्लाका नागरिकले अब उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालयहरूबाटै नागरिकताको प्रतिलिपि लिन पाउने भएका छन् । गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै यो व्यवस्था कार्यान्वयनमा आएको जानकारी दिएको हो ।
सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची (बुँदा नम्बर २१) को प्रतिबद्धता तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने कानुनी व्यवस्था मिलाइएको हो ।
उपत्यकामा सेवाग्राहीको चाप व्यवस्थित गर्न गृह मन्त्रालयको कात्तिक ९ गतेको परिपत्रअनुसार तीनवटै जिल्ला प्रशासन कार्यालयलाई प्रदेशगत रूपमा जिम्मेवारी बाँडफाँड गरिएको छ ।
कुन प्रदेशका नागरिकले कहाँबाट प्रतिलिपि लिने
जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाबाट नागरिकता लिएका सेवाग्राहीले प्रतिलिपि लिन पाउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लाबाट नागरिकता लिएका सेवाग्राहीले सेवा लिन सक्ने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, भक्तपुरबाट कोशी र मधेश प्रदेशअन्तर्गतका जिल्लाबाट नागरिकता लिएका सेवाग्राहीले सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।
आगलागी वा पानीले नष्ट भएमा, च्यातिएर काम नलाग्ने भएमा, हराएमा, नयाँ ढाँचामा आवश्यक परेमा वा अन्य कुनै कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले यो सुविधा उपभोग गर्न पाउनेछन् ।
प्रतिलिपिका लागि निवेदन दिने व्यक्तिको जैविक (बायोमेट्रिक) विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको अभिलेखसँग हुबहु मिल्नुपर्नेछ । प्रणालीमा रहेको विवरण प्रमाणित भएपछि मात्र प्रतिलिपि जारी गरिनेछ ।
प्रणालीमा अभिलेख नभिडेको अवस्थामा, साबिकको नागरिकतामा भएको नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर लिन चाहेमा, पहिलो दृष्टिमै शंकास्पद देखिएका निवेदकको हकमा भने प्रतिलिपि लिन नपाइने र सम्बन्धित जिल्ला प्रशासन कार्यालय नै पुग्नुपर्ने जनाइएको छ ।





