भोजपुरः भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सप्तधाराको संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ । बजारको प्रमुख आकर्षणका रूपमा रहेको सप्तधारा क्षेत्रको मुहान संरक्षणसँगै ढुङ्गेधारा जडान, विश्रामस्थल, घेराबारा तथा अन्य आवश्यक संरचना निर्माण गरिएको हो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सप्तधारा मुहान संरक्षण तथा मर्मतसम्भार योजनाअन्तर्गत १९ लाखको लागतमा संरक्षणको काम सम्पन्न गरिएको कार्यालय प्रमुख आशुतोषकुमार ठाकुरले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुहान संरक्षणका लागि पारदर्शी छानो निर्माण, हस्तकलाबाट निर्मित ढुङ्गेधारा जडान, धाराको भित्तामा ग्रेनाइट लगाउने, विश्रामस्थल निर्माण तथा घेराबारा र पर्खाल निर्माण गरिएको छ ।
आगामी दिनमा टक्सारमा रहेका तीन धाराको संरक्षण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
सप्तधाराका दुईवटा मुहानमा रहेका १४ वटा धारामध्ये ११ वटामा काठमाडौँबाट ल्याइएका हस्तकलाबाट निर्मित ढुङ्गेधारा जडान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विनम श्रेष्ठले जानकारी दिनुभयो । धारासँगै आसपासका क्षेत्रमा आवश्यक संरचना निर्माण गरी क्षेत्रलाई व्यवस्थित बनाइएको उहाँको भनाइ छ ।
बजार क्षेत्रमा आउने स्थानीय तथा बाह्य आगन्तुकलाई स्वच्छ पानी पिउन सहज होस् भन्ने उद्देश्यले संरक्षणको काम गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
सप्तधाराको संरक्षणले ऐतिहासिक महत्व बोकेको पानीको मुहान जोगिनुका साथै बजार क्षेत्रको सौन्दर्यसमेत बढेको उद्योग वाणिज्य संघ भोजपुरका पूर्वअध्यक्ष कर्ण मोक्तानले बताउनुभयो । उहाँका अनुसार सप्तधाराको मुहानकै कारण भोजपुर बजार स्थापना भएको भन्ने स्थानीयको भनाइ छ । स्थानीय जानकारका अनुसार वि.सं. १९६५ तिर यस क्षेत्रमा बस्ती विस्तार भएको हो ।
सप्तधाराको अर्को विशेषता कुनै पनि खडेरीमा मुहान नसुक्नु रहेको मोक्तानले बताउनुभयो । बजार क्षेत्रको बीचमा यति ठूलो र निरन्तर पानीको स्रोत देख्दा बाहिरबाट आउने मानिस आश्चर्यमा पर्ने गरेको उहाँको भनाइ छ । ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँले बताउनुभयो ।
सप्तधाराले बजार क्षेत्रको खानेपानीको आवश्यकता पूरा गर्नुका साथै सिँचाइका लागिसमेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको भोजपुर नगरपालिका–७ का वडाध्यक्ष जयबहादुर तामाङले बताउनुभयो । वडा कार्यालयले सप्तधारा क्षेत्रको विकास तथा संरक्षणका लागि आवश्यक सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
सप्तधारा भोजपुर नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा छ । ऐतिहासिक पानीको मुहानका रूपमा रहेको सप्तधारा बजारवासीका लागि पानीको स्रोतसँगै बजारको पहिचान र आकर्षणको केन्द्रका रूपमा रहँदै आएको छ ।





