Saturday, August 22, 2026
Homeप्रविधिकोशी प्रदेशमा कर्मचारीको सरुवा अनलाइनबाटै हुने

कोशी प्रदेशमा कर्मचारीको सरुवा अनलाइनबाटै हुने

विराटनगरः कोशी प्रदेश सरकारले कर्मचारी सरुवा प्रक्रियालाई प्रविधिमैत्री र पारदर्शी बनाउन एकीकृत सरुवा व्यवस्थापन प्रणाली (आइटीएमएस) प्रयोगमा ल्याएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सुशासन तथा प्रविधिमैत्री अभियानअन्तर्गत सामाजिक विकास मन्त्रालयले भदौ ४ गतेदेखि आइटीएमएसमार्फत कर्मचारी सरुवा प्रक्रिया शुरु गरेको हो । मन्त्रालयका प्रदेश सचिव विष्णुप्रसाद कोइरालाले प्रणालीमार्फत् कर्मचारी सरुवाको निर्णय गर्दै यसको औपचारिक सुरुवात गर्नुभएको हो ।

आइटीएमएस लागू भएसँगै कर्मचारीले सरुवाका लागि भौतिक रूपमा निवेदन बोकेर सम्बन्धित कार्यालय वा मन्त्रालय धाउनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ । कर्मचारीले प्रणालीमार्फत् नै सरुवाका लागि अनलाइन निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

प्रणालीमा प्रदेश तथा स्थानीय तहका कर्मचारीको व्यक्तिगत विवरण र सेवासम्बन्धी अभिलेख सुरक्षित डिजिटल प्रोफाइलका रूपमा राखिने भएको छ । सरुवाको निर्णय पनि सम्बन्धित निकायले प्रणालीभित्रैबाट गर्न सक्ने र निर्णयअनुसारको सरुवा पत्र स्वचालित रूपमा तयार हुने व्यवस्था गरिएको छ ।

सरुवा भएपछि रमाना पत्रसमेत प्रणालीबाटै तयार गरी जारी गर्न सकिने र कर्मचारी नयाँ कार्यालयमा पुगेपछि हाजिरीसम्बन्धी विवरण पनि प्रणालीमै अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको जनाइएको छ ।

आइटीएमएसमार्फत् कर्मचारी कुन कार्यालय र पदमा कार्यरत छन्, सरुवा तथा रमाना प्रक्रिया कुन अवस्थामा छ भन्ने विवरणसमेत वास्तविक समयमा अनुगमन गर्न सकिने जनाइएको छ ।

प्रदेशअन्तर्गतका कार्यालयहरूको स्वीकृत दरबन्दी विवरणसमेत प्रणालीमा राखिने भएकाले उपलब्ध दरबन्दी र आवश्यकताका आधारमा कर्मचारीको पदस्थापन तथा सरुवा व्यवस्थापन गर्न सहज हुने प्रदेश सरकारले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments