काठमाडौंः नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु) को ९१ वर्षको उमेरमा आइतबार राति आफ्नै निवास बुढानीकण्ठमा निधन भएको छ ।
उहाँको शव श्रद्धाञ्जलीका लागि मंगलबार नेपाल भाषा मंकाः खलः मा राखिएको थियो । उहाँका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ ।
वि.सं. १९९२ साउनमा जन्मनुभएका उहाँले लामो समय क्षेत्रपाटीस्थित कन्या मन्दिर विद्यालयमा अध्यापन गर्नुभएको थियो । कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो ।
२०६० सालमा नेपाल भाषा परिषदद्वारा ‘जनकवि’ को उपाधि हासिल गर्नुभएका उहाँ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद् हुनुहुन्थ्यो ।
सय थरी बाजा एउटै ताल……, फूलको आँखामा फूलै संसार…. लगायतका चर्चित गीतको रचना गर्नुभएका श्रेष्ठले नेपाली भाषामा पनि काव्यकृति प्रकाशन गर्नुभएको छ ।
उहाँको हिजो राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको छ ।





