गोठगाउँः अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाले बुधबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा साजीलाल माध्यमिक विद्यालयकी छात्रा समृद्धि लुइँटेल पहिलो भएकी छिन् ।
प्रतियोगितामा सुकुना बहुमुखी क्याम्पसकी रेमिका चौधरी दोस्रो, टेन्डरफिट बोर्डिङ स्कुलकी प्रशंसा भण्डारी तेस्रो तथा माउण्ट मकालुकी सोनिका सुवेदीले सान्त्वना स्थान हासिल गरे । सिद्धार्थ सेकेण्डरीकी प्रतियोगी शरण परियारलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव प्रवद्र्धनमा युवा विद्यार्थीको भूमिका’ विषयमा विद्यार्थीहरूले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाका अध्यक्ष केवल लुइँटेलका अनुसार प्रतियोगितामा सुन्दरहरैंचाका विभिन्न माध्यमिक विद्यालयबाट ३७ विद्यार्थी सहभागी थिए ।
पछिल्लो समय देशका विभिन्न क्षेत्रमा धार्मिक तथा सामुदायिक तनावका घटना सार्वजनिक भइरहेका बेला युवालाई सहिष्णुता, संवाद र सामाजिक एकताको पक्षमा उभ्याउने उद्देश्यले प्रतियोगिताको विषय छनोट गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि युवा समाजसेवी टेकमणि न्यौपानेले पहिलो पाइला नेपालले युवाको सिर्जनात्मक क्षमता विकाससँगै सामाजिक उत्तरदायित्वका विषयमा कार्यक्रम सञ्चालन गर्नु प्रशंसनीय रहेको बताए ।
प्रतियोगितामा लेखक तथा पत्रकार रामप्रसाद खरेल र नेपाली शिक्षक तोयानाथ भट्टराई निर्णायकका रूपमा रहेका थिए ।





