काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आठ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालका अनुसार आवेदन दिने अन्तिम समयसम्म आठ जनाको आवेदन परेको हो ।
सीईओ छनोटका लागि गठित सिफारिश समितिले आवेदकहरूले पेश गरेको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) को मूल्याङ्कन प्रक्रिया अघि बढाउनेछ । बिजनेश प्लानको मूल्याङ्कन सकिनासाथ ८ जनाबाट सर्टलिस्ट तयार हुने बताइएको छ ।
सर्टलिस्टमा परेका उम्मेद्वारहरूले आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ । त्यसपछि उनीहरू अन्तर्वार्तामा सहभागी हुनेछन् । प्रस्तुतीकरण र अन्तर्वार्तासहितको छनोट प्रक्रिया पूरा भएपछि नेप्सेले नयाँ सीईओ पाउनेछ ।
सिफारिश समितिले सीईओ पदका लागि साउन १२ गतेदेखि २६ गतेसम्म आवेदन आह्वान गरेको थियो ।





