पथरीशनिश्चरेः मोरङको पथरीशनिश्चरे नगरपालिकामा लुकाएर राखिएका १९ वटा भरिएका ग्यास सिलिन्डर बजार अनुगमन समितिले बरामद गरेको छ ।
पथरीशनिश्चरे–१ रत्नचोकस्थित कोशी ग्यास डिलरको बिक्रेता भुल्केदेवी ट्रेड एण्ड सप्लायर्सका सञ्चालकले आफ्नै घरमा लुकाएर राखेको अवस्थामा ती सिलिन्डर बरामद गरिएको हो । बजारमा ग्यासको कालोबजारी तथा कृत्रिम अभाव भइरहेको सूचना आएपछि नगरपालिकाले अनुगमनलाई तीव्रता दिएको थियो ।
नगर उपप्रमुख एवं बजार अनुगमन समितिकी संयोजक देवीमाया काफ्ले र अनुगमन निरीक्षक एकराज खत्रीको उपस्थितिमा सिलिन्डर बरामद गरिएको हो । समितिले सञ्चालकलाई एक पटकका लागि माफी दिँदै बरामद ग्यास पसलमा ल्याएर उपभोक्तालाई बिक्री गर्न अनुमति दिएको जनाएको छ ।
अनुगमनका क्रममा वडा नं. १ कै दीपक हार्डवेयरमा समेत जाँच गरिएको थियो । त्यहाँ ग्यास लुकाएर राखेको नपाइए पनि ग्यास बिक्री–वितरणको प्रमाणपत्र भने नभेटिएको अनुगमन निरीक्षक खत्रीले बताउनुभयो । सञ्चालक बस्नेतले प्रमाणपत्र उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
बस्नेतका अनुसार आज ४५० वटा भरिएका ग्यास सिलिन्डर ल्याएर उपभोक्तालाई बिक्री गर्ने तयारी छ । समितिले तिरुपति ग्यास डिलर (प्रिमा ग्यास), रिजाल ग्यास तथा कोशी ग्यासका अन्य डिलरमा समेत अनुगमन गरेको छ ।
अनुगमनमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, राजस्व शाखा प्रमुख तारा ढकाल, इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक भीमराज राई, नगर प्रहरी, अनुगमन समिति सदस्य, सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।
नगरपालिकाले ग्यास लुकाएर अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने प्रवृत्तिमाथि निगरानी बढाउने जनाएको छ ।
ग्यास बिक्री अनुगमनको क्रममा उद्योगलाई २ लाख ९० हजार र डिलरलाई ११ हजार रुपैयाँ जरिवाना





