इनरुवाः सुनसरीका किसानहरु मलको चरम अभावका कारण घण्टौँ लाइन लागेर थोरै मल लिएर चित्त बुझाउन बाध्य छन् ।
सुनसरीका किसानहरूले खेतीपातीको मुख्य याममै रासायनिक मलको चरम अभाव झेल्नुपरेको छ । समयमा मल उपलब्ध नहुँदा किसानहरू बिहानैदेखि घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् ।
कृषि सहकारी तथा बिक्री डिपोहरूमा यतिबेला युरिया र डीएपी मलको अभाव देखिएको छ । धानबालीका लागि प्रयोग गर्न रासायनिक मल पाउन कठिन भएपछि किसानहरू समस्यामा परेका छन् । सहकारी तथा अधिकृत विक्रेताहरूले कोटाअनुसारको मल समयमै प्राप्त नभएको बताएका छन् । खुला बजारमा कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्यमा मल बिक्री भइरहेको किसानहरूको आरोप छ ।
स्थानीय प्रशासन र कृषि ज्ञान केन्द्रलगायतका नियामक निकायले बजार अनुगमन र मल वितरणलाई प्रभावकारी बनाउन ठोस पहल नगरेको भन्दै किसानहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।





