विराटचोकः विराटनगरका प्रतिष्ठित उद्योगी वेणीगोपाल मुन्दडा र प्रकाश मुन्दडा परिवारको घर तथा कार्यालयमा नेपाल प्रहरीले विशेष सूचनाका आधारमा गरेको पाँच घण्टे खानतलासीपछि कुनै शंकास्पद वस्तु फेला नपरेपछि निजी क्षेत्रले राज्यको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ ।
हिजो बिहान विराटनगर–७ गोश्वारा रोडस्थित देवेनरा समूहको घर र कार्यालयमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्दै गरिएको अपरेसनले व्यवसायी समुदायमा त्रास फैलाएको उद्योगी व्यवसायीहरूको भनाइ छ ।
प्रत्यक्षदर्शीका अनुसार बिहान करिब साढे ४ बजेदेखि सुरु भएको अपरेसनका क्रममा प्रहरीले ड्रोनमार्फत निगरानी गरेको थियो भने घर वरपरका सडकसमेत केही समयका लागि बन्द गरिएको थियो । गोप्रो क्यामरा प्रयोग गरेका प्रहरी टोलीले घरदेखि कार्यालयसम्म विस्तृत खानतलासी गरेको भए पनि कुनै पनि आपत्तिजनक सामग्री बरामद नभएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिएका छन्
घटनापछि निजी क्षेत्रले प्रमाणबिनै छापामार शैलीमा गरिएको प्रहरी कारबाहीले लगानीकर्ताको मनोबल कमजोर बनाएको आरोप लगाएको छ । उद्योगीहरूले सरकारका तर्फबाट लगानीमैत्री वातावरणको प्रतिबद्धता व्यक्त गरिरहँदा अर्कोतर्फ प्रतिष्ठित व्यवसायीमाथि अपराधी वा आतंकवादीसरह व्यवहार गरिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनीहरूका अनुसार यस्तो कार्यले स्वदेशी मात्र होइन, विदेशी लगानीकर्तामा समेत नकारात्मक सन्देश जाने र मुलुकको लगानी वातावरण प्रभावित हुने जोखिम बढाएको छ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएका प्रतिष्ठित व्यवसायीमाथि ठोस आधारबिना गरिएको यस्तो कारबाहीले निजी क्षेत्रलाई त्रसित बनाएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार राज्यविरुद्धका गतिविधिमा संलग्नमाथि निगरानी राख्नु सरकारको दायित्व भए पनि प्रमाणबिना व्यवसायीमाथि यसरी कारबाही गर्नु उचित अभ्यास होइन ।
राजनीतिक तथा आर्थिक चुनौतीबीच व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरूको मनोबल राज्यकै व्यवहारले कमजोर बनाएको भन्दै निजी क्षेत्रले भविष्यमा यस्ता घटनाले लगानी र रोजगारी विस्तारमा प्रतिकूल असर पार्न सक्ने चेतावनी दिएको व्यवसायीको भनाइ छ ।





