विराटचोकः आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ । शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको छ ।
विभागका उपमहानिर्देशक एवम् सह–सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान तथा भ्याट बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउँछन् ।
नगद भुक्तानी गरी स्व–प्रयोजनका लागि नेपालभित्र एक पटकमा रु. १०० भन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्ने बिजक लिएका योग्य उपभोक्ताहरूले वेबसाइटमा गएर आफ्नो बिल अपलोड गर्न सक्नुहुन्छ । क्युआर मार्फत गरिने कारोबार प्रणालीमार्फत नै उपहार कार्यक्रमको प्रणालीमा समावेश गरिसकिएकाले उनीहरूले अहिले बिल प्रविष्ट (इन्ट्री) गर्नु नपर्ने पनि विभागले जनाएको छ ।
बैंक तथा वालेटको क्युआर मार्फत् रु. १०० भन्दा बढीको वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताहरूले अहिले बिल दर्ता गराउनुपर्दैन । क्यूआरबाट पैसा तिरेको कारोबार (ट्रान्सजेक्सन) डाउनलोड गरेर राख्ने र सोही ट्रान्जेकसन नम्बर नै उपहारका लागि विभागको प्रणालीमा प्रविष्ट भइसकेकाले उक्त नम्बर नै उपहारका लागि योग्य हुने बताइएको छ ।
उपहार घोषणापछि सक्कल बिल अनिवार्य हुने भएकाले बिलहरू भने सुरक्षित राख्न विभागले सबै उपभोक्ताको ध्यानाकर्षण गराएको छ । विभागले आफूले गरेको खरिदको सक्कल भ्याट तथा प्यान बिल माग्न र बिल नपाएको खण्डमा विभागमा जानकारी गराउन पनि उपभोक्तालाई आग्रह गरेको छ ।
विभागले साउन १ गतेदेखि लागू गरेको करदाता प्रोत्साहन कार्यक्रमको पहिलो १५ दिनको नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । हरेक दिनको रु. १ लाखका दरले १५ जना विजेता र हरेक १५ दिन बम्पर उपहारका रुपमा १० लाख रुपैयाँ उपहार पाउने भएका छन् ।





