विराटचोकः यस पटकको धान दिवसमा सुन्दरहरैंचाको सडकमा हजारौँ मानिस बिहानै एकै रङको कपडा लगाएर निस्किए । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा भएको ‘रन सुन्दरहरैंचा’ कार्यक्रममा सहभागिता जनाउन ‘रन सुन्दरहरैंचा’ लेखिएको सेतो रङको टिसर्ट लगाएर नगरवासी सडकमा र खेतमा निस्किएका हुन् ।
सुन्दरहरैंचा अब सुत्दैन । नगर अब महानगरको दौडमा लम्कन्छ भन्ने सन्देश दिन कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भोलेश्वर दुलालले बताउनुभयो ।
बिहान साढे ६ बजे विराटचोक–विराटनगर सडकमा भेला भएका नगरवासी ५ किलोमिटर दक्षिणमा रहेको हरैंचा बजारसम्म दौडिएका थिए । दौडमा नगरप्रमुखका साथै अन्य जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, उद्योगी–व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यार्थी, युवा तथा सर्वसाधारण सहभागी थिए । कार्यक्रममा सहभागी हुन काठमाडौंबाट सञ्चारकर्मी टीकाराम यात्री र दिलभूषण पाठक, जलस्रोत विज्ञ अरुण सुवेदी, नायिका रेखा थापालगायत सहभागी हुनुभएको थियो ।
असार १५ को सांस्कृतिक तथा कृषि महत्त्वलाई थप प्रवद्र्धन गर्दै नगरवासीमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दौड समापनपछि हरैंचास्थित हात्तीसार खेलमैदानमा दही–चिउरा खाने कार्यक्रम तय गरिएको थियो ।
त्यसपछि नजिकै रहेको खेतमा गएर सहभागीले हिलो खेल्दै धान रोपेर धान दिवस मनाएका थिए । हिलो तथा धान खेल्ने कार्यक्रममा सुन्दरहरैंचाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ, पूर्व नगरप्रमुख शिवप्रसाद ढकालका साथै जनप्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा सुन्दरहरैंचाका विभिन्न विद्यालयका विद्यार्थीको पनि उल्लेख्य सहभागिता रहेको थियो ।




