इटहरीः स्वर्गीय लायन नरनाथ सापकोटाको योगदानको सम्मान गर्ने उद्देश्यले इटहरीमा आजदेखि “स्व. लायन नारनाथ सापकोटा स्मृति फुटसल प्रतियोगिता–२०८३” हुने भएको छ ।
लियो डिस्ट्रिकट ३२५ सी नेपालको आयोजना लियो क्लब अफ इटहरी स्मार्ट सिटीको सहआयोजनामा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परिषद्का डिस्ट्रिक्ट प्रेसिडेन्ट मनोज तिवारीले प्रतियोगिता केवल खेलकुदमा सीमित नभई युवाहरूको नेतृत्व विकास, अनुशासन, टीम–स्पिरिट र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो ।
स्वर्गीय लायन नरनाथ सापकोटाले समाजसेवा तथा युवा नेतृत्व विकासमा पुर्याएको उल्लेखनीय योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा मोरङ र सुनसरीका ८ वटा लियो क्लबहरूको सहभागिता रहनेछ । प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
प्रतियोगितालाई निष्पक्ष, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन सहभागी टोलीका प्रतिनिधिहरूको उपस्थितिमा शुक्रबार नै टाइ–सिट सार्वजनिक गरिएको छ । प्रतियोगिताका खेलहरू शनिबार बिहान ९ बजेदेखि सञ्चालन हुने भएका छन्
सहआयोजक क्लबका अध्यक्ष सुरेन्द्र थापाका अनुसार प्रतियोगिताले युवाहरूबीच खेल संस्कृतिको विकासमा सहयोग पुग्नेछ ।




