विराटचोकः पीएलओ ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरको संयुक्त आयोजनामा सुन्दरहरैँचा नगरपालिका–९ स्थित फुटबल मैदानमा सामुदायिक सरसफाइ तथा खेल मैदान सुधार कार्यक्रम भएको छ ।
सामाजिक उत्तरदायित्व तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै आयोजित कार्यक्रममा फुटबल मैदान र आसपासका क्षेत्रको सरसफाइ गरी वातावरणलाई स्वच्छ, सफा तथा व्यवस्थित बनाइएको थियो । साथै, मैदान परिसरमा रहेका झाडी तथा अनावश्यक वनस्पति हटाई खेलाडीहरूका लागि थप सुरक्षित र सहज खेल वातावरण निर्माण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमकै अवसरमा खेलाडीहरूको सुविधा तथा विश्रामलाई ध्यानमा राख्दै मैदानमा सानो ट्रस निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ । सो संरचनाले खेलाडी तथा खेलप्रेमीहरूलाई घाम र वर्षाबाट बचाई खेल गतिविधिलाई अझ व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा पीएलओ ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरका पदाधिकारी तथा सदस्यहरू, स्थानीय युवा खेलाडीहरू र समुदायका विभिन्न व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो ।
सहभागीहरूले सार्वजनिक स्थलहरूको संरक्षण, सरसफाइ तथा सामुदायिक स्वामित्वको महत्वबारे आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए । सामाजिक तथा सामुदायिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिँदै स्वच्छ, स्वस्थ र जिम्मेवार समाज निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।




