प्रताप चौलागाईँ
भित्तामा झुन्डिएको एउटा अन्धो घडीबाट
निरन्तर शुरु भइरहन्छ
एउटा मान्छेको रोजाइविहीन चक्रव्यूह
घडीसँगै
अँध्यारो चिर्दै बास्छ भाले
निद्रा चिर्दै बिउँझन्छ एउटा लास
समय चिर्दै खुल्छन् सारा झ्यालढोका
आयु र स्मृति चिर्दै उठ्छ काल
यही घडीले सिकाएको छ
आफ्नै छातीभित्रको ढुकढुकीलाई
बाहिरको सुईसँग मिलाएर हिँड्न
र त्यो मिलन नभएको दिन
आफूलाई नै बिग्रेको ठान्न
यही घडीले
मान्छेलाई झुण्ड्याएको छ
आफ्नो चक्रव्यूहमा युगयुगदेखि
कहिले राजाको सुईमा
कहिले सामन्तको घण्टामा
कहिले बजारको मिनेटमा
कहिले एल्गोरिदमको सेकेन्डमा
यही घडीले
आफ्नो साँघुरो डायलभित्र थुनेको छ बीपीको विद्रोह
आफ्नै दाँतीले किचेको छ मदनका सपना
यसैको सुईले कोतरेर रक्ताम्मे छ
सुस्ताको माटो
र लिम्पियाधुराको नक्सा
यही घडीले फसाउँछ मान्छेलाई
आफ्नो चक्रव्यूहमा
कहिले भिसाको म्याद बनेर
कहिले ऋणको किस्ता बनेर
कहिले छोराछोरीको स्कुल फी बनेर
कहिले महङ्गीको ग्राफ बनेर
कहिलेकाहीँ म सोच्छु
यदि घडीको सुई बन्द भए
बिउँझिन्थे कि ती आँखाहरू
जो यो चक्रव्यूहमा निदाइरहे
बाँच्थे कि ती मान्छेहरू
जो समयभन्दा पहिले थाकिसके
तर सुई रोकिँदैमा समय कहाँ रोकिन्छ र ?
त्यसैले त
भित्तामा झुन्डिएको एउटा अन्धो घडीबाट
निरन्तर जारी छ
एउटा मान्छेको रोजाइविहीन चक्रव्यूह ।
युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औं जन्म जयन्तीको अवसरमा “सर्जक चौतारी ओखलढुङ्गा“ले आयोजना गरेको कविता प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल काभ्रेका कवि प्रताप चौलागाईँको कविता




