Saturday, May 30, 2026
Homeकला र साहित्यघडी र चक्रव्यूह

घडी र चक्रव्यूह

प्रताप चौलागाईँ

भित्तामा झुन्डिएको एउटा अन्धो घडीबाट
निरन्तर शुरु भइरहन्छ
एउटा मान्छेको रोजाइविहीन चक्रव्यूह
घडीसँगै
अँध्यारो चिर्दै बास्छ भाले
निद्रा चिर्दै बिउँझन्छ एउटा लास
समय चिर्दै खुल्छन् सारा झ्यालढोका
आयु र स्मृति चिर्दै उठ्छ काल
यही घडीले सिकाएको छ
आफ्नै छातीभित्रको ढुकढुकीलाई
बाहिरको सुईसँग मिलाएर हिँड्न
र त्यो मिलन नभएको दिन
आफूलाई नै बिग्रेको ठान्न
यही घडीले
मान्छेलाई झुण्ड्याएको छ
आफ्नो चक्रव्यूहमा युगयुगदेखि
कहिले राजाको सुईमा
कहिले सामन्तको घण्टामा
कहिले बजारको मिनेटमा
कहिले एल्गोरिदमको सेकेन्डमा
यही घडीले
आफ्नो साँघुरो डायलभित्र थुनेको छ बीपीको विद्रोह
आफ्नै दाँतीले किचेको छ मदनका सपना
यसैको सुईले कोतरेर रक्ताम्मे छ
सुस्ताको माटो
र लिम्पियाधुराको नक्सा
यही घडीले फसाउँछ मान्छेलाई
आफ्नो चक्रव्यूहमा
कहिले भिसाको म्याद बनेर
कहिले ऋणको किस्ता बनेर
कहिले छोराछोरीको स्कुल फी बनेर
कहिले महङ्गीको ग्राफ बनेर
कहिलेकाहीँ म सोच्छु
यदि घडीको सुई बन्द भए
बिउँझिन्थे कि ती आँखाहरू
जो यो चक्रव्यूहमा निदाइरहे
बाँच्थे कि ती मान्छेहरू
जो समयभन्दा पहिले थाकिसके
तर सुई रोकिँदैमा समय कहाँ रोकिन्छ र ?
त्यसैले त
भित्तामा झुन्डिएको एउटा अन्धो घडीबाट
निरन्तर जारी छ
एउटा मान्छेको रोजाइविहीन चक्रव्यूह ।

 

युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औं जन्म जयन्तीको अवसरमा “सर्जक चौतारी ओखलढुङ्गा“ले आयोजना गरेको कविता प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल काभ्रेका कवि प्रताप चौलागाईँको कविता

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments