विराटचोकः विगतका वर्षमा झैँ यस पटक पनि सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा संयुक्त रुपमा बजेट श्रवण गरिएको छ । संघले लगातार तेस्रो पटक यस्तो नौलो अभ्यास गरेको हो ।
विराटचोकमा रहेको प्लानेट लाउञ्जमा बसेर सुन्दरहरैंचाका व्यवसायी, शिक्षाविद्, राजनीतिज्ञ, सञ्चारकर्मी, समाजसेवी तथा स्थानीयवासीले संयुक्त रुपमा बजेट श्रवण गरी अन्तरक्रिया गरेका हुन् ।
बजेट श्रवणमा सुन्दरहरैंचाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी, सहायक क्याम्पस प्रमुख बलराम पोखरेल, संघका पूर्व अध्यक्ष गोपालबहादुर थापा, नेपाली कांग्रेस मोरङका सचिव ललितबहादुर श्रेष्ठ तथा आयोजक संस्थाका पदाधिकारी र व्यवसायीको उपस्थिति रहेको थियो ।
एकै स्थानमा बसेर बजेट सुन्ने तथा छलफल गर्ने कार्यले बजेट विनियोजनका विषयमा सहभागीलाई थप जान्ने तथा आफूले नबुझेका विषय अन्य सहभागीबाट बुझ्न सजिलो हुने भएकाले आफूले संघको नेतृत्व सम्हालेदेखि यस्तो अभ्यास शुरु गरिएको संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।





