काठमाडौंः आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै छ ।
आज बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिष्पर्धा हुने भएको हो । जारी सिरिजमा नेपालको यो चौथो खेल हो ।
यसअघि भएका तीन खेलमध्ये नेपाल दुई खेलमा विजयी भएको छ । पहिलो खेलमा स्कटल्यान्डसँग हारेको नेपालले दोस्रो खेलमा अमेरिका र तेस्रो खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो ।
घरेलु मैदानमा भएका दुइटा सिरिजमा महत्त्वपूर्ण अंकसहित पहिलोपटक नेपाल पाँचौँ स्थानमा उक्लिएको छ । नेपाल आफ्नो प्रदर्शनलाई कायम राख्दै आजको खेलमा अमेरिकालाई दोस्रो पटक पराजित गर्ने दाउमा छ ।
नेपालले अहिलेसम्म ४२ मध्ये २७ खेल खेलेर २२ अंक बटुलेको छ । अंक तालिकाको शीर्ष चारमा रहने टोली एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप छनोटमा सिधै प्रवेश पाउनेछन् ।




