गछियाः सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकाशपुरमा खेलकुद विकास, युवा सहभागिता, सामाजिक एकता प्रवद्र्धन तथा दिवङ्गत प्रदीप राईको स्मृतिलाई सम्मान गर्ने उद्देश्यले प्रकाशपुर युवा जमातद्वारा आयोजित प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८३ मा गछिया युवा समाज फाइनलमा पुगेको छ ।
निर्धारित समयको अन्तिम चरणसम्म कुनै पनि टोलीले गोल गर्न नसक्दा खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा गछिया युवा समाजले फेयर फुटबल क्लब धरानलाई ५–४ गोलले पराजित गरेको हो ।
खेलमा गछिया युवा समाजका गोलरक्षक प्रमिजय गच्छदार म्यान अफ द म्याच घोषित हुँदै पुरस्कारस्वरूप नगद रु. २,५०० सहित ट्रफी प्राप्त गर्नुभयो ।
आज हुने दोस्रो सेमीफाइनल खेल आयोजक प्रकाशपुर युवा जमात सुनसरी र गाईघाट युनाइटेड क्लब उदयपुरबीच हुनेछ ।
प्रतियोगिताको उपाधि जित्ने प्रथम टोलीले रु. २ लाख २२ हजार २२२ प्राप्त गर्नेछ भने उपविजेता बन्ने टोलीले विजेताले पाउने रकमको आधा रकम पाउनेछ ।
व्यक्तिगत विधातर्फ प्रतियोगिताभर सर्वाधिक गोल गर्ने गोलकर्ताले रु. ३,५००, बेस्ट गोलकिपरले रु. ३,५००, उत्कृष्ट फर्वार्डले रु. ३,५००, बेस्ट डिफेन्डरले रु. ३,५००, बेस्ट प्रशिक्षकले रु. ३,५००, उदीयमान खेलाडीले रु. ३,५०० र सर्वोत्कृष्ट खेलाडीले रु. ५,००० नगद प्राप्त गर्नेछन् ।
प्रत्येक खेलका उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) लाई जनही रु. २,५०० पाउनेछन् ।





