विराटचोकः नेपालका २० वटा वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र कर्जा प्रवाहमा सुस्तता आएका कारण असोजको तुलनामा कात्तिक महिनामा पनि निक्षेपको औसत ब्याजदरमा थप गिरावट आएको छ ।
कात्तिक महिनाका लागि २० वटा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असोजको ४.०८९५ प्रतिशतविन्दुबाट ०.०७६५ प्रतिशतविन्दुले घटेर ४.०१३ प्रतिशतविन्दुमा झरेको छ ।
संस्थागत निक्षेपको औसत ब्याजदर पनि असोजको ३.०६६५ प्रतिशतविन्दुबाट ०.०६३५ प्रतिशतविन्दुले घटेर ३.००३ प्रतिशतविन्दु कायम भएको छ ।
कात्तिक महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदरमा सबैभन्दा ठूलो कटौती गरेको छ । सो बैंकले व्यक्तिगत निक्षेपको दरमा ०.८ प्रतिशतविन्दुले कमी गर्दै ३.७ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशतविन्दुले घटाएर ३ प्रतिशत कायम गरेको छ ।
नबिल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशत र संस्थागत दर ०.२६ प्रतिशतविन्दुले घटाएर २.७५ प्रतिशत बनाएको छ ।
प्रभु बैंकले पनि व्यक्तिगततर्फ ०.३ प्रतिशतविन्दुले ब्याजदर घटाएर ४.२५ प्रतिशतमा झारेको छ ।
नेपाल एसबिआई बैंकले व्यक्तिगतमा ०.१ प्रतिशतविन्दु (नयाँ दर ४ प्रतिशत), स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतविन्दु (नयाँ दर ३.७ प्रतिशत), र कुमारी बैंकले ०.०३ प्रतिशतविन्दु (नयाँ दर ३.७ प्रतिशत) ले कटौती गरेका छन् ।
हिमालयनलगायत यी बैंकको ब्याजदर स्थिर
हिमालयन बैंकले भने व्यक्तिगत दर ४ प्रतिशतमै स्थिर राख्दै संस्थागत दरमा ०.२५ प्रतिशतबिन्दुले कटौती गरी ३.२५ प्रतिशत बनाएको छ ।
त्यस्तै, सानिमा बैंक (४.५ प्रतिशत), एनएमबि बैंक (४.५ प्रतिशत), माछापुच्छ्रे बैंक (४.५ प्रतिशत), कृषि विकास बैंक (४.१५ प्रतिशत), नेपाल बैंक (४.१५ प्रतिशत), लक्ष्मी सनराइज बैंक (४ प्रतिशत), एनआईसी एसिया बैंक (४ प्रतिशत), राष्ट्रिय वाणिज्य बैंक (४ प्रतिशत), प्राइम कमर्सियल बैंक (४ प्रतिशत), ग्लोबल आइएमई बैंक (४ प्रतिशत), सिटिजन्स बैंक (३.८५ प्रतिशत), र सिद्धार्थ बैंक (३.७६ प्रतिशत) सहित १३ वटा बैंकहरूले भने कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदरमा कुनै परिवर्तन नगरी अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् ।
एभरेष्टले बढायो
एभरेष्ट बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर ०.२५ प्रतिशतबिन्दुले बढाएर ३.७५ प्रतिशत पुर्याएको छ । संस्थागत दर ३.२५ प्रतिशतमै यथावत राखेको छ ।
……………





