विराटचोकः सरकारले सार्वजनिक संस्थानहरूको वर्गीकरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले सार्वजनिक संस्थानलाई व्यवस्थित, प्रभावकारी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित वर्गीकरण गर्ने योजना अघि सारेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानहरूको अवस्था, कार्यक्षमता र आवश्यकताअनुसार वर्गीकरण गरिने उल्लेख गरिएको छ ।
सरकारले लामो समयदेखि घाटामा रहेका तथा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका संस्थानहरूको सुधारका लागि नयाँ रणनीति अपनाउने संकेत गरेको छ ।
नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानहरूमा निजी क्षेत्रसँग सहकार्य विस्तार गर्ने, संस्थानहरूको क्षमता अभिवृद्धि गर्ने तथा आवश्यकताअनुसार गाभ्ने नीति पनि समेटिएको छ ।




