विराटचोकः कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहहरूलाई आफैँ कम्पनी दर्ता गर्न र विभिन्न क्षेत्रका कम्पनीहरूको शेयर खरीद गरी स्वामित्व लिन पाउने ऐतिहासिक निर्णय गरेको छ ।
२०८३ वैशाख २५ गते जारी गरिएको सूचनाअनुसार देशका ७५३ वटै स्थानीय सरकारहरूले प्रचलित कानुनको परिधिभित्र रही व्यावसायिक क्षेत्रमा प्रत्यक्ष लगानी गर्न पाउनेछन् । विशेष गरी सौर्य ऊर्जालगायतका उत्पादनमूलक क्षेत्रमा कम्पनी स्थापना गर्न र शेयर लगानी गर्न विभिन्न स्थानीय तहबाट माग भइआएकाले यस्तो व्यवस्था गरिएको हो ।
विकास निर्माणका लागि ठेक्कापट्टा दिने वा अनुदान वितरण गर्ने कार्यमा बढी जोड दिने स्थानीय तहले आफ्नै लगानीमा कम्पनी सञ्चालन गरी नाफा कमाउन सक्नेछन् । यसले स्थानीय तहको आन्तरिक आय बढाउन र केन्द्रको अनुदानमा रहेको निर्भरता घटाउन मद्दत पुर्याउनेछ । सूचनामा दुई वटा मुख्य शर्तहरू राखिएका छन् । स्थानीय तहले यस सम्बन्धमा आफ्नै कार्यविधि वा कानुन बनाएर निर्णय गर्नुपर्ने तथा कम्पनी दर्ता र सञ्चालन गर्दा ‘कम्पनी ऐन २०६३’ र अन्य प्रचलित कानुनहरूको पूर्ण पालना गर्नुपर्ने शर्त राखिएको छ ।




