Friday, May 8, 2026
Homeकला र साहित्यअग्रजहरूको जीवनी ‘जीवनकथा अग्रजका’ प्रकाशित

अग्रजहरूको जीवनी ‘जीवनकथा अग्रजका’ प्रकाशित

विराटचोकः मोरङको सुन्दरहरैंचा र बेलबारीका अग्रजको जीवनी समेटिएको कृति ‘जीवनकथा अग्रजका’ प्रकाशित भएको छ । कृति लेखक केशु विरहीले लेख्नुभएको हो ।

कोसी साहित्य–कला परिषद् नेपालको आयोजना तथा सुकुना बहुमुखी क्याम्पसको सहकार्यमा कृति सार्वजनिकीकरण समारोह आयोजना गरी कृति पाठकमाझ सार्वजनिक गरिएको हो ।

बेलबारी र सुन्दरहरैँचाका ऐतिहासिक तथा सामाजिक व्यक्तित्वहरूको विषयमा अध्ययन गरिएको सो पुस्तक विमोचन समारोह कवि एवम् सङ्घीय सांसद प्रेमलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा कृतिको समीक्षा प्रा.डा. भीम खतिवडा र लीला अनमोलले गर्नुभएको थियो ।
समीक्षक खतिवडाले खोज अनुसन्धान गरेर अग्रजहरूका बारेमा पुस्तक लेखिनु भनेको इतिहासलाई जीवन्त राख्ने काम भएको बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्षसमेत रहेका खतिवडाले यस कृतिले पुराना र नयाँ पुस्ताबिचको खाडललाई पुर्ने अपेक्षा गर्न सकिने बताउनुभयो ।

सञ्चारकर्मी तथा समीक्षक अनमोलले लेखक तथा स्रष्टाले राज्यको अघि हात पसार्नुपर्ने अवस्था आउन नहुने, समाजमा चेतनाको बीज छर्ने स्रष्टाहरूलाई हेर्ने जिम्मा समुदायको पनि भएकाले समुदायले पनि स्रष्टाको सम्मानमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उद्योगपति भोलेश्वर दुलालले इतिहासको रक्षा गर्नु सबैको कर्तव्य रहेको बताउँदै ऐतिहासिक व्यक्तिहरूको अध्ययन गरेर पुस्तक प्रकाशन गरेकामा कृतिकारलाई बधाई दिनुभयो ।

कृतिकार विरहीले अनुसन्धान तथा प्रकाशनसम्म आइपुग्दा आइपरेका समस्या र चुनौतीका बारेमा बताउँदै अग्रजलाई सम्मान तथा उहाँहरूमा भएको अनुभवलाई नवपुस्तामा हस्तान्तरण गर्ने अभियानका क्रममा यो पुस्तक लेखेको बताउनुभयो । दुई वर्ष लगाएर लेखिएको यस कृतिमार्फत आफूले राखेका तीनओटामध्ये पहिलो उद्देश्य ‘अग्रजका अनुभवलाई बाहिर ल्याउने काम’ पूरा गरे पनि ‘उनीहरूका बारेमा चर्चा चलाउने’ र ‘अनुसन्धान अक्षयकोष वृद्धि गर्ने’ उद्देश्य पूरा गर्ने अभियानमा सबैको साथ खोजेको उहाँको भनाइ थियो ।

विरहीले यस कृतिको बिक्रीबाट आएको २५ प्रतिशत रकम अनुसन्धान अक्षयकोषमा जम्मा गर्ने र उक्त रकमबाट आउने ब्याजबाट नवपुस्तालाई अनुसन्धानमा आउन अभिप्रेरणा जगाउन अर्थात् पुरस्कारको व्यवस्था गरिने बताउनुभयो ।

कार्यक्रममा झापा, मोरङ र सुनसरीका साहित्यिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कोसी साहित्य–कला परिषद्का कोषाध्यक्ष चिरञ्जीवी काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा शारदा दाहाल भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन परिषद्का सचिव नवराज पोखरेल ‘नवशिला’ ले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments