इटहरीः १६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजले जितेको छ । हिजो राति इटहरी रंगशालामा भएको फाइनल खेलमा बुढासुब्बा गोल्डकपको विजेता प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि उचालेको हो ।
खेलको ८७ औं मिनेटमा दोर्जे तामाङले गरेको गोल नै निर्णायक गोल भएको थियो । गोलकर्ता तामाङ फाइनल खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पार्न सफल भए ।
उपाधिसँगै गछिया युवा समाजले नगद १० लाख रुपैयाँ पुरस्कार जितेको छ भने उपविजेता प्लानिङ ब्वाइज युनाइटेडले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
व्यक्तिगत विधातर्फ पनि गछियाकै वर्चस्व देखिएको छ । गछियाका सुजन चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १ लाख रुपैयाँ पुरस्कार जित्न सफल भए । गछियाकै विशाल सुनार उत्कृष्ट गोलकिपर हुँदा सुजन डङ्गोल उत्कृष्ट फरवार्ड तथा अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही २० हजार रुपैयाँ पुरस्कार हात पारे ।
यता प्लानिङ ब्वाइजका निग्मा घिसिङ उत्कृष्ट डिफेण्डर तथा प्रतापसिंह राई उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताभर ६ गोल गरेका प्लानिङका कप्तान फागुराम थारुले सर्वाधिक गोलकर्ताको उपाधिसहित २५ हजार रुपैयाँ पुरस्कार जिते ।
आयोजक राष्ट्रिय जागृति क्लबका युजन राई उदीयमान खेलाडी घोषित हुँदै ३२ इन्चको एलइडी टिभी हात पार्न सफल भए ।
प्लानिङ ब्वाइजले सेमीफाइनलमा सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ को फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
गछियाले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई सेमीफाइनलमा र नाइजेरियन क्लब जस्टजोन एफसीलाई क्वाटर फाइनलमा पराजित गरेको थियो ।
राष्ट्रिय जागृति क्लबद्वारा आयोजित प्रतियोगितामा दुई विदेशी टोलीसहित ८ टिम सहभागी थिए ।
गछिया युवा समाजसँग फाइनलमा भिड्ने भो प्लानिङ ब्वाइज, सातदोबाटो युथ क्लबलाई ६–१ गोलले गर्याे पराजित
सुन्दरहरैंचाको गछिया युवा समाज मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै पुग्यो इटहरी गोल्डकपको फाइनलमा
सुन्दरहरैंचाको गछिया युवा समाज विदेशी टोली नाइजेरियालाई हराउँदै पुग्यो इटहरी गोल्डकपको सेमीफाइनलमा



