इटहरीः १६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत भएको खेलमा जस्ट जोन फुटबल क्लब नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै युवा समाज सुन्दरहरैंचा सेमीफाइनलमा प्रवेश गरेको छ ।
सोमबार राति सम्पन्न उद्घाटन खेलको चौथो मिनेटमै श्रीजन गौतमले गोल गर्दै मोरङलाई अग्रता दिलाएका थिए । विपक्षी डिफेन्डर तायो एक्किरिन्ससोयबाट रिबाउन्ड भएको बललाई उनले जाली चुमाएका हुन् । दबाबमा रहेको नाइजेरियन टिमका लागि ३५ औँ मिनेटमा डिबोला हामजामले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफको ३८ औँ मिनेटमा सुजन डंगोलले उत्कृष्ट गोल गर्दै युवा समाज सुन्दरहरैंचालाई २–१ को अग्रता दिलाएका थिए । ४२ औँ मिनेटमा दोर्जे तामाङले थप गोल गर्दै मोरङलाई ३–१ को नतिजा दिलाएका थिए ।
खेलको अतिरिक्त समयको पाँच मिनेटमा एडिगन पिटरले नाइजेरियाका लागि थप गोल गरे पनि जीतको लागि पर्याप्त भएन । खेलको ‘प्लेयर अफ द म्याच’ विजेता टिमका दोर्जे तामाङ घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
आजको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र झापा–११ आमनेसामने हुनेछन् । राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँ नगदसँगै ६० तोला चाँदी र ६ आना सुनले लेपन गरिएको ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ, प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ प्रदान गरिने भएको छ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २० हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
आज खेल्ने मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी विराट गोल्डकपअन्तर्गत हिजो भएको खेलमा नेपाल पुलिस क्लबसँग सडन डेथमा पराजित भएको थियो ।



