इटहरीः शनिबार राति इटहरी रंगशालामा सम्पन्न दोस्रो सेमीफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लबलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।
शुक्रबार भएको पहिलो सेमीफाइनलमा गछिया युवा समाजले साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई हराउँदै उपाधि भीडन्त तय गरिसकेको छ ।
प्लानिङ ब्वाइजको जीतमा कप्तान फागुराम थारुले ४ गोल गरेका थिए । रोमन भुजेल र प्रतापसिंह राईले एक–एक गोल गरेका थिए ।
खेलको चौथो मिनेटमै रोमन भुजेलले गोल गर्दै प्लानिङ ब्वाइजलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा कप्तान फागुराम थारुले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । ३२ औँ मिनेटमा थारुले थप गोल गरेपछि पहिलो हाफ ३–० को अवस्थामा रहेको थियो ।
दोस्रो हाफको पहिलो मिनेटमै सातदोबाटोका सकल रेग्मीले सान्त्वना गोल गरेका थिए । दोस्रो हाफको १९ औं मिनेटमा प्लानिङ ब्वाइजका फागुरामले ह्याट्रिक पूरा गरे भने त्यसको चार मिनेटपछि पुनः गोल गरी ४ गोल गरेका थिए । दोस्रो हाफको ३३ औं मिनेटमा प्रतापसिंह राईले गोल थपेपछि प्लानिङ ब्वाइजले ६–१ को गोलको नतिजासहित फाइनल पुगेको हो ।
उत्कृष्ट प्रदर्शन गरेका फागुराम थारु प्लेयर अफ द म्याच घोषित भए ।
राष्ट्रिय जागृति क्लबद्वारा आयोजित प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।



