काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसदको हैसियतमा काम गर्न नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता आयुष बडालसहितका निवेदकहरूले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले उनी सार्वजनिक पदमा रहँदा स्वतः निलम्बनमा पर्नुपर्ने दाबी गरेका छन् ।
लामिछानेलाई सांसदको रूपमा काम गर्न नदिन अदालतबाट आदेश जारी गर्नुपर्ने माग गर्दै तीन दिनअघि दर्ताका लागि पेस गरिएको उक्त रिट अझैसम्म सर्वोच्च अदालत प्रशासनले दर्ता नगरेको बताइएको छ ।
नियमअनुसार दर्ता गर्न नमिल्ने भए दरपीठ (दर्ता गर्न नमिल्ने भनी लेखिएको) आदेश दिनुपर्ने व्यवस्था भए पनि हालसम्म त्यस्तो आदेश पनि जारी नभएको निवेदकले बताएका छन् ।



